जनता टाइम्स

८ भाद्र २०७७, सोमबार १४:३६

माइती नेपालको उदाहरणीय काम : रोजगारी गुमाएका १४ हजारलाई खाना


बाँके, भदौ ८

कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका बाँकेका १४ हजार नागरिकलाई माइती नेपालले खाना खुवाएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएका परिवार र व्यक्तिलाई लक्षित गरि खाना खुवाउने अभियान सञ्चालन गरिएको माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको जमुनहा, गायत्रीनगर सुकुम्वासी वस्ती, कोहलपुर नगरपालिकाको शम्शेरगञ्ज, अकलघरुवालगायत स्थानमा १४ हजारलाई खाना खुवाइएको छ ।

गत असार १६ गतेबाट शुरु भएको खाना खुवाउने अभियानअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका–१२ का बेलासपुर, भेरी प्राविधिक शिक्षालय चोक र नयाँबस्ती, वडा नं १३ का घसियारनटोल, मसानघाट र बुलबुलिया, वडा नं १९ को आलानगर र मोहनपुर, वडा नं. २० का गायत्रीनगर तथा वडा नं. ९ का खट्कनपुर्वाका गरिब तथा निमुखा परिवारलाई खाना वितरण गरिएको प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

यस्तै, नेपालगञ्ज क्वारेन्टिनमा बस्ने तथा निलसागर वृद्धाश्रममा रहेका असहाय, अशक्त व्यक्तिलाई पनि अभियानमा समेटिएको उहाँले बताउनुभयो। कोरोना महामारीका कारण दैनिक ज्यालादारी मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिलाई थोरै भए पनि राहत प्रदान गर्न खाना खुवाउने अभियान थालेको उहाँको भनाइ छ ।

बिद्यमान असहज परिस्थितिमा महिला तथा बालबालिकालाई पौष्टिकयुक्त खाना खुवाएर उनीहरुको दैनिक जीवनलाई थोरै भएपनि सहयोग पुर्याउने अभियानको प्रमुख उद्देश्य रहेको कोइरालाले बताउनुभयो । ‘गाउँपालिका र नगरपालिकासँग समन्वय गरेर वडा कार्यालयको प्रत्यक्ष निगरानीमा आवश्यकताका आधारमा खाना खुवाउने कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘वडा कार्यालयले उपलब्ध गराउने आधिकारिक तथ्याङ्क र वास्तविक पीडित परिवारलाई खाना खुवाउने गरिएको छ ।’

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले माइती नेपालले सञ्चालन गरेको खाना खुवाउने अभियान प्रशंसनीय रहेको बताउनुभयो । काम गरी खाने मजदूरले काम गर्न नपाइरहेको अहिलेको विषम परिस्थितिमा घर घरमै पुगेर तयारी खाना वितरण हुँदा नागरिक खुशी भएको पनि सुनाउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका-२० का वडाध्यक्ष कृष्ण कार्कीले माइती नेपालले गायत्रीनगरस्थित सुकुम्वासी टोलमा पाँच दिनसम्म तयारी खाना खुवाएर उदाहरणीय काम गरेको बताउनुभयो। कोरोना महामारीका कारण रोजगारी गुमाएका गायत्री नगरका करीब तीन सय जनालाई पाँच दिनसम्म वडा कार्यालयसँगको समन्वयमा खाना खुवाउँदा स्थानीयवासी हर्षित भएको उहाँको भनाइ छ ।