काठमाडौं, भदौ १०
प्रधानमन्त्री केपी शर्मा ओलीले गौरापर्वको अवसरमा सबैलाई शुभकामना दिनु भएको छ । उहाले सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको बताउनु भएको छ ।
गौरा पर्वका अवसर पारेर एक शुभकामना सन्देश दिदै उहाले सुदूरपश्चिम प्रदेशको विशिष्ट सांस्कृतिक पर्व भएकाले यस्ता साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकताका प्रतीक रहँदै आएको उल्लेख गर्नुभएको छ । ‘महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो’, सन्देशमा उहाले भन्नुभएको छ,‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त छ । विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको छ ।’
प्रधानमन्त्री ओलीले यस्ता विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धि तर्फ अग्रसर हुन सबैमा आव्हान समेत गर्नुभएको छ । साथै उहाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९को प्रतिकुल अवस्थामा चाडपर्वहरु सुरक्षित तवरमा मनाउन विशेष ध्यान दिन समेत आग्रह गर्नुभएको छ । ‘जीवन रक्षाका निम्ति सचेत भएर परम्पराहरुको निरन्तरतामा पनि अग्रसर रहन आवश्यक छ’, उहाले सन्देशमा भन्नुभएको छ, ‘यस निम्ति सजग हुँदै विशेषज्ञ र चिकित्सकहरुको सल्लाह एंव सरकारको निर्देशन अनुसार सामाजिक व्यवहार गरेर सर्वोपरी रुपमा महामारीबाट जोगिन सबैमा आग्रह गर्न चाहान्छु ।’
प्रतिक्रिया दिनुहोस्