काठमाडौं, भदौ १०
चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट फरार भएका कोरोना संक्रमित युवा नुवाकोटमा भेटिएका छन् । चोरी आरोपमा पक्राउ परेका युवामा कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
भरतपुर अस्पतालको आइसोलेसनबाट भागेको ती युवक बुधबार बिहान १०.३० बजे नुवाकोट जिल्लाको बेलकोटगढी वडा नम्बर ५ मा भेटिएको चितवन प्रहरीले जनाएको छ । नेपाल प्रहरीको चेकिङको क्रममा उनी फेला परेको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकरी दिनुभयो । उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको छ ।
प्रहरीकाअनुसार उनी साइकल चढेर चितवनबाट त्यहाँ पुगेका थिए । भरतपुर महानगरपालिका–१२ बस्दै आएका १९ वर्षीय युवक चोरीको आरोपमा पक्राउ परेका थिए । हिरासतमै उनमा संक्रमण पुष्टि भएको थियो । उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि भदौ ६ गते श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो । मंगलबार अस्पतालमा नभेटिएपछि प्रहरीले उनको खोजी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्