जनता टाइम्स

१० भाद्र २०७७, बुधबार १७:१३

शाही आरोपको फेरो समातेर यसरी भइरहेछ उपप्रम पोखरेलको चरित्रहत्या, यस्तो छ यथार्थ


तथ्यसहित उपप्रम पोखरेलले दिए खुल्ला चुनौती

काठमाडौं, भदौ १० । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफूबिरुद्ध लगाइएको लाञ्छना प्रमाणित गरेर देखाउन खुल्ला चुनौती दिनुभएको छ । राष्ट्रिय बाणिज्य बैंकका सञ्चालक समिति सदस्यमा प्राडा उपेन्द्र कोइरालाको नियुक्तिलाई लिएर चरित्रहत्या गरिएपछि नेकपा सचिवालयका सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज बिज्ञप्ती नै जारी गरी यस्तो चुनौती दिनुभएको हो ।

कोइराला र पोखरेलको सम्बन्धलाई लिएर अफवाह फैलाउँदै चरित्रहत्यामै उत्रिएपछि उहाँले प्रतिवाद गर्नुभएको हो । उपप्रधानमन्त्री पोखरेलले गणतन्त्रको आन्दोलनमा होमिएको बेला आफूमाथि तात्कालिन राजा ज्ञानेन्द्र नेतृत्वको शाही सरकारले लगाएको आरोपको आडमा तिनै दरवारियाद्वारा पालित पोषित तत्वहरु अहिले चरित्रहत्यामा लागेको खुलासा पनि गर्नुभएको छ ।

‘ विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् ! म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु,’ आरोप लगाउनेलाई चुनौती दिँदै पोखरेलले भन्नुभएको छ ।

यस्तो छ उपप्रम पोखरेलको अपिल

सबै महानुभावहरूमा अनुरोध !

केही दिनयता मलाई केन्द्रीत गरी कतिपय सञ्चार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।

मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन । कहीं कतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायँको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु । मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु । यस्तो विषयका कारण दुःखित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु ।

विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् ! म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु–तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै कमजोर हुन दिने छैन/किमार्थ टुट्न दिने छैन !!

ईश्वर पोखरेल
१० भदौ २०७७