जनता टाइम्स

११ भाद्र २०७७, बिहीबार १५:१६

प्रहरीको ‘मोस्टवाण्टेड’ सूचीमा कांग्रेस सभापति


सिन्धुपाल्चोक, भदौ १० । दिउँसै मदिरा पिएर लट्ठिएर बाह्रविसे नगरपालिकाका कर्मचारीमाथि हातपात गर्न खोजेका नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ का सभापति बालकृष्ण बस्नेत फरार भएका छन् । बाह्रविसे नगरपालिकामा करारमा कार्यरत कर्मचारी लालबहादुर तामाङलाई मदिराको नशाको शुरमा कुटपिट गर्न खोजेको भन्दै तामाङले इलाका प्रहरी कार्यालय बाह्रविसेमा जाहेरी दिएपछि सभापति बस्नेत फरार भएका हुन ।

कुटपिट घटनामा तामाङले जाहेरी दिएपछि कांग्रेसको उच्च नेतृत्व र बस्नेतका काकाको छोरा कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत समेतले तामाङको जाहेरी दर्ता नगर्न प्रहरीलाई दबाब दिुभएको थियो । तर इलाका प्रहरी कार्यालय बाह्रविसेले जाहेरी दर्ता गरेपछि क्षेत्रीय सभापति बस्नेत फरार छन । उनी सामजिक सञ्जालमा सक्रिय देखिए पनि प्रहरीले भने पक्राउ गर्न सकेको छैन । भदौ १ गते कांग्रेस क्षेत्रीय सभापति बस्नेतले बाह्रविसे बजारको स्थानीय चण्डेश्वरी होटल नजिकै नगरपालिकामा करारमा कार्यरत कर्मचारी लालबहादुर तामाङलाई कुटपिट गर्न खोजेका थिए । नशामा भुम्मिएका बस्नेतले आफूलाई कुटपिट गर्न खोजेपछि तामाङ भागेर नगरपालिका कार्यालयभित्र प्रवेश गरी जोगिएका थिए ।

नगरपालिकाका कर्मचारी कार्यालयभित्र प्रवेश गरेपछि बस्नेत रिसले रन्थनिदै नगरपालिकाभित्रै प्रवेश गर्न खोजेपनि सँगै रहेका कांग्रेसका केही कार्याकर्ताहरुलाई सम्झाएर त्यहाँबाट फर्केका थिए । त्यहाँबाट अघि बढेका बस्नेतले जुरेमा रहेको क्रसरमा पुगेर एउटा मालवाहक टिपर तोडफोड गरेका थिए । क्रसरको बा ३ क ३४२९ नम्बरको टिपर बस्नेतले ढुगामुडा गरेर तोडफोड गरेको क्रसर सञ्चालकहरुले जानकारी दिएका छन् । क्रसरमा तेल माग्न गएका बस्नेतलाई तेल नदिएपछि आक्रोशित हुदै सवारी साधनमा तोडफोड गरेका थिए । क्रसरका कर्मचारीहरुले यस्तो संकटको बेला हामीलाई क्रसर सञ्चालन गर्न त हम्मेहम्मे छ, उनलाई कसरी तेल दिन सकिन्छ भनेपछि उनी आक्रोशित भएका थिए ।

तेल नदिएपछि क्रसरमा आगो लगाएर ध्वस्त बनाउँछु भन्दै उनी हिडेको क्रसर सञ्चालक मध्येका एक कृष्ण क्षेत्रीले इलाका प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ । बस्नेतविरुद्ध क्रसर सञ्चालक क्षेत्रीले अभद्र व्यवहारमा उजुरी दर्ता गराएका छन् भने नगरपालिकाका कर्मचारी तामाङले कुटपिट र अभद्र व्यवहारमा नै उजुरी दर्ता गराएका छन् । भदौ ३ गते प्रहरी कार्यालयमा बस्नेतविरुद्ध उजुरी दर्ता भएपछि उनी फरार रहेको प्रहरीले जनाएको छ । हामीले उनको घरठेगाना सबैमा गएर खोजतलास गरे पनि भेटाउन सकेका छौनौं इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले भन्नुभयो ।

आफूविरुद्ध प्रहरीमा उजुरी दर्ता भएपछि उनी मोटरसाइकालमा ठोकर्पाबाट मेलम्ची क्षेत्रको साँखुहुँदै काठमाडौमा गएर लुकेर बसेको सूचना आफुहरुलाई आएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिनुभयो । काठमाडौमा लकडाउन भएकाले खोज्न जान भने नसकिएको उहाँको भनाई छ । बस्नेत फरार भएपनि केही दिनभित्रै पक्राउ गरेर कानुनी कारवाही गर्ने प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिनुभयो ।

अपहरण मुद्दा दर्ता गर्ने तयारी

बाह्रविसे नगरपालिकाका करारमा कार्यरत कर्मचारी लालबहादुर तामाङले कांग्रेस सभापति बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएपछि बस्नेतसहित कांग्रेस समर्थक पाँच जना मिलेर तामाङलाई अपहरण गरेर जर्बजस्ती मिलापत्र कागजमा हस्ताक्षर गराएका थिए । ‘मलाई पाँच जना मिलेर अपहरण गरेर मोटसाइकलमा हालेर जंगलमा लगेर जर्बजस्ती कागजमा हस्ताक्षर गर्न लगाए,’ तामाङले भन्नुभयो, ‘म एक्लै थिए, डर धम्की दिए,डराएर हस्ताक्षर गरे, तर मेरो सहमती थिएन ।’

तामाङको परिवारले फरार बस्नेतसहित पाँच जनाविरुद्द अपहरण गरेर जर्बजस्ती हस्ताक्षर गराएको घटनामा पनि प्रहरीमा जाहेरी दिन लागेको परिवारले जानकारी दिएका छन् । तामाङ परिवारसँग जंगलमा लगेर जर्बजस्ती मिलापत्र कागजमा हस्ताक्षर गर्न लगाएको तस्विर र भिडियो समेत रहेको परिवार स्रोतले जानकारी दिएको छ ।