जनता टाइम्स

११ भाद्र २०७७, बिहीबार १७:४६

विभिन्न अभियोगमा फरार रहेका १२ जना अभियुक्त पक्राउ गर्न प्रहरी सफल


मुगु, भदौ ११

छोटो अवधीमै विभिन्न अभियोगमा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । भदौ १ गतेदेखि १० गतेभित्र विभिन्न अभियोगमा फरार रहेका १२ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहले बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनुभयो ।

प्रनाउ शाहका अनुसार प्रहरी केन्द्रीय कार्यालयको नीति अनुसार अदालतको फैसला कार्यान्वयन गर्न अभियुक्तलाई पक्राउ गर्न जारी गरेको विषेश योजना अनुसार प्रहरी सक्रिय हुँदा लामो समयसम्म फरार रहेका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका हुन् । पक्राउ परेकामध्ये ११ जना अभद्र व्यवहार र कुटपिटको आरोपमा फरार रहेकाहरु र उनीहरु अदालती प्रकृया पुरा गरी धरौटीमा रिहा भएको प्रहरीले बताएको छ ।

यो अवधीमा सबैभन्दा ठूलो उपलब्धी भनेको जबरजस्ती करणी र चोरी मुद्दामा जिल्ला अदालत मुगुको २०७४ फागुन २१ गतेको फैसलाका प्रतिवादी यही भदौ ९ गते पक्राउ परेको प्रहरीले बताएको छ । प्रतिवादीले २०७१ असोज ६ गते करिब साँझ ५ बजे खत्याड गाँउपालिका– ११ डाडवनमा एक युवतीलाई करणी गरि फरार रहेका थिए ।

उनी घटना घटाएको ६ वर्षपछि पक्राउ परेका हुन् । अदालतको फैसला भइसक्दा पनि फरार रहेका प्रतिवादी वर्ष २१ का शुक्रराज शाही भारतको सिम्लामा लुकीछिपी बसेको र कोरोनाका कारण भारतमा समेत लकडाउन भएपछि एक महिनाअघि घर आएर बसेका थिए । यसबारे थाहा पाएपछि प्रहरीले प्रतिवादीकै घरबाट मंगलबार पक्राउ गरेको थियो ।

अदालतले प्रतिवादी शाहीलाई १० वर्ष कैदसहित ६९ हजार ३ सय जरिवाना फैसला गरेको थियो । जिल्लामा कारागार नभएकाले प्रतिवादीलाई राख्न कारागार विभागको अनुमती आएपछि विभागले तोकेको कारागारमा चलान गर्ने पनि प्रनाउ शाहले बताउनुभयो । जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी हुँदा अहिले प्रहरीलाई काम गर्न सजिलो भएको पत्रकार भेटघाटमा उहाँले जानकारी दिनुभयो ।

सबै वडा, बस्ती, पालिका र जिल्लास्तरमा सामुदाय प्रहरी साझेदारी कार्यक्रमका संरचना र पदाधीकारीहरु भएकाले जस्तोसुकै घटना भए पनि समयमै सूचना आउने गरेको र विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न र पीडितलाई न्याय दिन सजिलो भएको प्रनाउ शाहले बताउनुभयो ।

लकडाउनले गर्दा अदालतबाट फैसला भएका तर, फरार रहेका व्यक्तिहरु जिल्लामा आएकाले उनीहरुलाई पक्राउ गरि अदालतको फैसला कार्यान्वयन गर्न प्रहरी लागिपरेको छ । जिल्लामा प्रहरीको सक्रियता बढेकाले सानो–सानो घटनामा पनि जिल्ला धाउने चलन अन्त्य हुँदै गएको छ । नत्र विगतमा सानोतिनो घटनालाई पनि राजनैतिक रंग दिएर ठूलो बनाउने कार्य हुँदै आएको थियो ।

राजनैतिक रंगमा ठुलै आर्थिक चलखेल गर्ने र यो कार्यमा स्थानीय नेताहरु सक्रिय हुने गरेका थिए । तर, हालका प्रनाउले यसरी आएका घटनाहरुको वास्तविकता बुझी मुघा दर्ता गरिहाल्ने र दोषिलाई कसैको दवावमा नपरी पक्राउ गर्न थालेपछि घटनालाई मुख्य कमाउने पेशाको रुपमा लिँदै आएका राजनैतिक दलका जिल्लास्तरिय नेताहरु र विचौलियाहरुको धन्दा रोकिएको छ भने घटनाभन्दा अघि दोषिलाई उम्काउन प्रहरी कार्यालयमा पुग्ने नेताहरुको पुरानो बानीमा सुधार आउँदै गएको छ ।