काठमाडौं, भदौ १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुुष्पकमल दाहाल,प्रचण्डले भोलिका लागि तय गर्नुभएको बैठक भदौं १८ गतेसम्मका लागि स्थगित भएको हो । अध्यक्षद्वय ओली र प्रचण्डबीच आज भएको छलफलपछि बैठक स्थगित भएको हो ।
नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना पुष्टि भएको कारण भोलिका लागि तय गरिएको सचिवालय बैठक स्थगित गरिएको जानकारी नेकपाका नेताहरुले दिएका छन । सिसिएमसीका केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र केही दिनअघि दुवै मन्त्री सो बैठकमा रहेको स्रोतको भनाई छ । मन्त्रीद्वय पोखरेल र थापा यही सोमवार सिसीएमसीको सचिवालयमा अनुगमनका लागि पुग्नुभएको थियो । सो क्रममा सो कार्यालयका केही सहयोगीहरुमा कोरोना संक्रमण भएपछि भोलिको बैठक स्थगित गरिएको हो । संक्रमितसँग सम्पर्कमा रहेको कारण दुवै मन्त्रीको पिसिआर परीक्षणका लागि स्वाव लिइएको छ ।
भोलिको बैठकको तयारीका लागि नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आज छलफल चलिरहँदा दुई मन्त्रीको सम्पर्कमा रहेको ब्यक्तिमा कोरोना संक्रमण देखिएको सूचना पुगेको थियो । सो सूचनालगत्तै बैठक १८ गतेसम्म स्थगित गरिएको हो । नेकपाको सचिवालय बैठकमा बिवाद समाधानका लागि गठित कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनमाथि छलफल गरी साझा प्रस्ताव तयार पार्नेे र स्थायी कमिटी बैठकको मिति तय गर्ने कार्यसूची रहेको छ ।
नेकपाभित्र लामो समयदेखि सिर्जना गरिएको बिवादलाई कार्यदलले समाधान गर्दै सर्वसम्मत रुपमा आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदनलाई नेकपाका नेता कार्यकर्तादेखि समर्थन, सुभचिन्तकसम्मले स्वागतयोग्य भन्दै खुसी प्रकट गरेका छन ।
प्रतिक्रिया दिनुहोस्