जनता टाइम्स

१४ भाद्र २०७७, आईतवार १९:४४

तीन देशसँग हवाई सम्झौता गर्दै सरकार


काठमाडौं, भदौ १४ । सरकारले तीन वटा देशमा हवाई सम्झौता गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय ब्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले भाद्र १६ देखि नियमित उडान हुने हुँदा वायुसेवा कम्पनीहरुले कोभिड १९ को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिनेतर्फ वायुृसेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्ड्यन प्राधिकरणमार्फत वायुसेवा कम्पनीलाई सचेत गराउने निर्णय गरेको छ । त्यस्तै, नेपालीहरु स्वदेश फिर्तालगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मालाई सदस्य तोकिएको छ । समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हानलगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएको छ ।

हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्युलगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेका छ । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको बार्षिक कार्य योजनामा समावेश गरिएका माईलस्टोनलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।