जनता टाइम्स

१६ भाद्र २०७७, मंगलवार १७:४९

सौताको सरीरभरी मेरो हजुरको हात सल्बलाएको देख्दा


रिसले आगो हुन्छु, अनि पस्छु रिससँगै उहाँको मन तान्ने सबैभन्दा प्यारो कोठाभित्र । कोठाभित्र दुई जना मन्त्र मुग्ध देख्छु, आँफैमा हराएका… । झनै रिस उठ्छ । नजिकै पुग्छु, एकटक हेर्छु, अहँ मेरो उपस्थिति पनि मतलब छैन त्यो जोडीलाई 

पवित्रा अधिकारी

कुनै कुनै बिषयमा आफैलाई सम्झाउन निकै कठिन हुन्छ । मान्छे हो रिस नउठने त कुरै भएन । सही रुपमा मानिसलाई बुझ्न नसक्दा वा मन छाम्न नसक्दाका पीडा होलान जस्तै अनुभुति हुन्छ । सौता हालेको जस्तो लाग्छ मेरो हजुरले ! कहिले काहीँ झन रिस उठ्छ । त्यही रिसले आगो हुन्छु, अनि पस्छु रिससँगै उहाँको मन तान्ने सबैभन्दा प्यारो कोठाभित्र । कोठाभित्र दुई जना मन्त्र मुग्ध देख्छु, आँफैमा हराएका… । झनै रिस उठ्छ । नजिकै पुग्छु, एकटक हेर्छु, अहँ मेरो उपस्थिति पनि मतलब छैन त्यो जोडीलाई ।

ऊ भावनामा खेल्दैछे मेरो हजुरको मन मस्तिष्कमा मोहनी लगाएकी छे…. मेरो हजुर निस्फिक्री हात सल्बलाउनु हुन्छ, उस्को शरीरभरी…….। उहाँको स्पर्शले झन राम्री, झन निखारिएकी देखिन्छे ऊ । झन मादकता, मोहकता थपिन्छ उसको रुप निखारिएर आउँदा कोठाभरी….. त्यही मादकतामा म पनि हराउँछु । त्यो रिस अब प्रेममा वदलिन्छ….. म पनि हराउँछु, विर्सन्छु केको लागि आएको थिएँ यहाँ भनेर ।

कहिलेकाहीँ सोध्छु हजुरको लागि साधना प्यारो कि म ? मेरा प्रश्नलाई सँधै मजाकिया पारामा टारिदिनु हुन्छ । एकमन लाग्छ, उस्का सृंगारका सामान लुकाईदिऊँ, कुची, रंग, क्यानभास, छिना, हथौडी । ती देखेर अझ रिस उठ्छ । फालिदिऊँ जस्तै हुन्छ । तर उहाँको साधनाले सृजित ती सृजना देखेपछि म स्वयं हराउँछु अनि जतन गरी राखिदिन्छु ।

४० बर्षको अनवरत साधना साच्चिकै अदभूत छ ! मैले पनि २० बर्ष चाहेर, नचाहेर, रिसमा, ईष्र्यामा, कहिले मायामा साथ दिएँ । रहर थियो मनमा मेरो ईष्र्याको भागिदार ती उहाँका सबै सृजना कला प्रदर्शनीमार्फत विश्वले देखोस । म रिसैले पनि यति सह्राना गर्छु कला पारखी झन के गर्दा हुन ?

यो वा त्यो जुनसुकै माध्यम भए पनि आज खुसी छु । झन बृहत् प्रदर्शनी भएको छ, वेवसाईटमार्फत । सबैले देख्न सजिलो भएको छ, मैले ईष्र्या गर्ने, म र परिवार भन्दा बढी समय पाउने अनी हामी परिवार जत्तिकै महत्व पाउने उहाँको कला । अझै ईष्र्या गर्न पाईरहुँ । अझ राम्रो सृजना आईरहोस शुभकामना प्यारो मान्छे ।