जनता टाइम्स

१७ भाद्र २०७७, बुधबार १५:०८

एकैदिनमा समातिए दश वर्ष पुरानो घटनाका ५ फरार प्रतिवादी


म्याग्दी, भदौ १७

जिल्ला प्रहरी कार्यालय, म्यादीले कर्तव्य ज्यान मुद्दाका पाँच जना फरार प्रतिवादीलाई एकैदिनमा पक्राउ गरेको छ । म्याग्दीको ओखरबोट–३, चिउरीबोटमा १० वर्षअघि २१ वर्षीय नारायण अन्त्यालको हत्या भएको घटनामा संलग्न पाँच जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरका अनुसार पक्राउ पर्नेमा मालिका गाउँपालिकाका बलमान घर्ती, जीवन घर्ती मगर, दुर्गाबहादुर घती, दलप्रसाद पुन र तत्कालीन रुम गाविस–५ का तिर्थेन्द्र घर्ती मगर छन् । शिवरात्रीको अवसरमा दार्जिङखोला युवा क्लब, ओखरबोटले आयोजना गरेको भलिबल खेलमा पराजित भएपछि छन्त्यालको हत्या भएको अनुसन्धानबाट खुलेको थियो ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत, म्याग्दीले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । दुर्गा र दल चाहिँ घटना भएका वेला बालबालिका भएकाले आधा अर्थात् १० वर्ष कैद सजाय गर्न आदेश भएको थियो । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत म्याग्दी प्रहरीको यो हालसम्मकै ठूलो सफलता भएको डीएसपी कुँवरले बताउनुभयो । उहाँका अनुसार हालसम्म १९ जना फरार अभियुक्तलाई अभियान अन्तरगत पक्राउ गरिसकिएको छ ।