जनता टाइम्स

१७ भाद्र २०७७, बुधबार १५:२०

साढे ४ करोड अण्डा उत्पादन गर्ने पोल्ट्री उद्योग खुल्दै


नवलपरासी, भदौ १७

नवलपरासीको विनयत्रिवेणीमा वार्षिक ४ करोड ४६ लाख ३६ हजारभन्दा बढी अण्डा उत्पादन गर्ने क्षमताको पोल्ट्री उद्योग सञ्चालनमा आउने भएको छ । रुपन्देहीको बुटवलमा रहेको किसान एग्रो प्रालिले २० करोड लगानीमा उद्योग सञ्चालनको तयारी अगाडि बढाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

उक्त उद्योगबाट दैनिक एक लाख २७ हजार २२४ अण्डा उत्पादन गर्ने लक्ष्यसहितको प्रस्ताव पेश भएको मन्त्रालयको भनाइ छ । उद्योगमा तीन प्रकारका एक लाख २७ हजार भन्दा धेरै कुखुरा रहने छन् । धेरै उत्पादन क्षमताको पोल्ट्री उद्योग सञ्चालनमा आउँदा बजार प्रतिस्पर्धी हुने र उपभोक्ता लाभान्वित हुने उद्योगको दावी छ ।

६० जनालाई रोजगारी दिने उद्योगको वातावरणीय प्रभाव मूल्याकंन प्रस्ताव कृषिमार्फत वन मन्त्रालयमा पेश गरिएको छ । सबै दर्ता प्रक्रिया पुरा भएको उद्योगले यही आर्थिक वर्षदेखि उत्पादन थाल्ने लक्ष्य लिएको छ ।