जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार १०:५२

ओली सरकारको प्रयासपछि बन्द तातोपानी नाका खुल्यो


सिन्धुपाल्चोक

भूकम्पपछि बन्द भएको तातोपानी नाका अन्तत संचालनमा आएको छ । २०७२ सालको भुकम्पपछि बन्द रहेको सो नाका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विशेष पहलपछि मंगलबारदेखि सञ्चालनमा आएको हो । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएर नाका अनौपचारिक रुपमा संचालनमा आएको छ ।

ती कन्टेनर बुधबार काठमाण्डौ आइपुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी मंगलबार बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश गराइएको हो । गोरखा भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाका बन्द भएको थियो । अहिले पनि मितेरीपुलको निर्माण भैरहेको छ ।

नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकको पुल हुँदै खाली कन्टेनर गएका हुन् ।तातोपानी भन्सार कार्यालय र अध्यागमनदेखि उद्योग वाणिज्य संघसँग समन्वय गरेर कामलाई थालनी गरिएको सीमाका जनप्रतिनिधिले बताएका छन् । नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइनेछ । त्यसैको लागि यहाँको संरचना रंगरोगन गरेर चिटिक्क पारिएको छ ।

नेपाल–चीन जोड्ने मितेरी पुल निर्माणको काम भैरहेकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकबाट नै कन्टेनर गएका चीनतर्फ गएका हुन् । चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ । नेपाल सरकारको पटक–पटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो ।