जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार १९:०३

सर्वोच्च अदालतले भन्यो– सुमार्गीको पक्षमा फैसला भएको होइन् (फैसलासहित)


काठमाडौं 

सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको रोक्का रहेको सम्पत्ति फुकुवा गर्न परमादेश जारी नभएको स्पष्टिकरण दिएको छ ।
सुमार्गीले हालेको मुद्दामा फैसला सुनाउँदै घुउमारो रुपमा वैधानिक स्रोतमा भित्रिएको ठहर गर्न नसकिने फैसला गरेको छ ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसलामा सुमार्गीको रकमका सम्बन्धमा अनुसन्धान गरी यथार्थ विवरण अदालतमा पेस गर्न सम्पत्ति शुद्धीकरण विभागलाइ भनिएको छ। फैसलासँगै सुमार्गीले तत्काल रकम निकाल्न नपाउने भएका छन्।

व्यवसायी सुमार्गीको मागबमोजिम आदेश जारी नगरिएको स्पष्ट पार्दै उनको रिट निवेदन खारेज भएको उल्लेख छ। सर्वोच्च अदालतको नोटमा भनिएको छ, ‘निवेदक कम्पनीका ठाउँमा बैंक खातामा रहेको रकम कानुनबमोजिम रोक्का रहेकोले फुकुवा गर्नुपर्ने अवस्था नदेखिँदा उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने रिट निवेदन खारेज हुने।’

सर्वोच्च अदालतले तीनवटा विषयमा परमादेश जारी गरेको छ। सम्पत्ति शुद्धिकरण विभागमा सुमार्गीका बारेमा जारी छानबिनलाई यकीन गर्न आदेश दिँदै सर्वोच्च अदालतले त्यसलाई छ महिनाभित्र टुंग्याउन निर्देशन दिएको छ। अनि हरेक महिना आफ्नो फैसला कार्यान्वयन निर्देशनालयमा कारबाहीको प्रगति विवरण पठाउन पनि आदेश जारी गरेको छ।

यसअघि सर्वोच्च अदालतले सुमार्गीको मुद्दाको पेसी सूचीमा परमादेश जारी भएको भनी जनाएको थियो। कुनै विषयवस्तु उल्लेख नगरी परमादेश जारी भन्ने शब्द प्रयोग गरेकाले निवेदनको मागबमोजिम आदेश जारी भएको भनी सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका थिए।

पुरानो समाचार गलत भएकाले सच्याइएको जानकारी गराउदछौं – सम्पादक