जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार २०:३८

महरालाई सुरक्षा दिन सरकारलाई संसदीय समितिको निर्देशन, छाति र मुटुमा समस्या देखिएपछि हस्पिटल भर्ना


काठमाडौं, जेठ १४

प्रसिद्ध व्यापारिक केन्द्र काठमाडौं मलको भाडामा भएको घोटाला छानविन गर्न माग गर्ने द काठमाडौं व्यवसायी संघकी अध्यक्ष शुषमा महरालाई सुरक्षा प्रबन्ध गर्न सरकारलाई निर्देशन दिइएको छ । संसदको लेखा समितिले सञ्चय कोषको स्वामित्वमा रहेको उक्त मलको घोटलाका सम्बन्धमा उनीहरुले उजुरी गर्दा आक्रमण भएको भन्दै सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएको हो ।

संसद सचिवालयले गृह मन्त्रालयलाई पत्र लेखेर अध्यक्ष महरा र उनको परिवारलाई सुरक्षा प्रवन्ध मिलाउन भनेको छ । जेठ ५ गते बसेको समितिको बैठकले अध्यक्ष महरा र परिवारलाई सुरक्षा प्रबन्ध गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।

समितिले काठमाडौं मलका व्यापारीहरुलाई अन्याय भएको र विचौलियाले करोडौं हिनामिना गरेको भन्दै छानविनका लागि उजुरी परेको जनाएको छ । कर्मचारी सञ्चय कोषका कर्मचारी, द काठमाडौं मल व्यवसायी संघकै पूर्व पदाधिकारी र विचौलियाले मलको भाडा उठाएर घोटाला गरेको नयाँ कार्यसमिति चयन भएपछि खुलेको थियो ।

व्यवसायीबाट उठाएर विचमै खानेदेखि कोषलाई भाडा समेत नबुझाएर अपचलन गरेको भन्दै लेखा समितिमा केही समयअघि उजुरी परेको थियो । उक्त उजुरीमाथि छानविन चलिरहेको समिति सचिवालयले जनाएको छ ।

उजुरीपछि मलमै अध्यक्ष महरा र उनको श्रीमान् कर्पोरेटका प्रधान सम्पादक उज्वलजंग शाहमाथि आक्रमण भएको थियो । लामो समय नर्भिक अस्पतालमा उपचार गराएपछि उहाँहरु डिस्चार्ज हुनुभएको थियो ।

सुषमा महराले घोटलाको विषय उठाएपछि विचौलिया केहि मिडियामार्फत महराको विषयमा भ्रम फैलाई अनुसन्धानलाई प्रभावित पार्न खोजिरहेका छन्। घोटलाको विषय उठाएकोमा महरामाथि आक्रमण गर्न लगाइएपनि विचौलियाले घटनालाई व्यक्तिगत बनाउन सक्रिय छन् । प्रहरीमा व्यक्तिगत रिसिइबी कारण आक्रमण गरेको उनीहरुले बताइरहेका छन् । प्रहरीले महराको जाहेरी समेत लिन नमानेपछि घटना थप रहस्यमय बनेको छ ।

छाति र मुटुमा समस्या देखिएपछि महरा हस्पिटल भर्ना

उक्त घोटाला छानविनबाट पछि हट्न विभिन्न समूहले निरन्तर दिइरहेको तनाव र बैशाख ३ गतेको आक्रमणपछि अस्वस्थ रहनुभएकी महरा एक्कासी छाति र मुटुमा समस्या देखिएपछि उहाँलाई शहिद गंगला हृदयरोग उपचार केन्द्र भर्ना गरिएको छ । मंगलबार उहाँलाई अस्पताल पुर्याइएको हो ।