जनता टाइम्स

१५ आश्विन २०७७, बिहीबार १७:३३

पीसीआर परीक्षणका लागि टेकुमा भीड लागेपछि…


काठमाडौं, असोज १५

शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पतालमा कोरोना परीक्षणका लागि भीड लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण अन्य सरकारी अस्पतालमा पनि हुने भन्दै भीड नगर्न आग्रह गरेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पीसीआर परीक्षण अन्य अस्पतालहरुमा पनि हुने भएकाले सो एउटै स्थानमा भीड नगर्न सर्वसाधरणलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘टेकु अस्पतालमा मात्रै भीड गर्नुपर्दैन, पीसीआर परीक्षण अन्य अस्पतालहरुमा पनि हुन्छन्, त्यसरी भीड गर्दा तपाई संक्रमित नभएपनि भीडमा हुनसक्ने सम्भावित संक्रमितबाट तपाईलाई संक्रमण हुनसक्छ, त्यसैले भीड नगरौँ ।’

काठमाडौं उपत्यकामा पाटन अस्पताल, वीर अस्पताल, एपीएफ अस्पताल लगायतका सरकारी अस्पतालमा पीसीआर परीक्षण भइरहेको छ । उहाँले काठमाडौं उपत्यकालगायत जनघनत्व भएका स्थानहरुमा संक्रमण बढिरहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न समेत पुनः आग्रह गर्नुभयो ।