जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १३:१४

दैनिक पाँच करोडको व्यापार हुने रुपैडिया सुक्दा चम्कियो नेपालगञ्जको व्यापार : बढ्यो आत्मनिर्भरता


बाँके, असोज १८ । साँढे ६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको भारतको रुपैडिया बजार अहिले सुनसान छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण नेपाल–भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको रुपैडिया बजार अहिले सुनसान बन्न पुगेको हो ।

रुपैडिया बजार बन्द हुँदा अहिले धेरैले घरमै तरकारी उतपादन समेत गर्न थालेका छन । नेपाली उपभोक्ताको भरमा ६ महिनाअघिसम्म दैनिक पाँच करोडसम्म व्यापार हुन्थ्यो रुपैडियामा । तर कोरोनाका कारण जारी लकडाउन र सीमामा कडाइ गरिँदा वारिबाट नेपाली पारि जान छाडेपछि व्यापार शून्य भएको व्यवसायीको भनाई छ । रुपैडिया व्यापार मण्डलका अध्यक्ष विजय मित्तल नेपाली ग्राहकका कारण दैनिक चारदेखि पाँच करोडसम्मको व्यापार व्यवसाय हुँदै आएको रुपैडियामा अहिले दैनिक एक लाखको पनि व्यापार हुन नसकेको यथार्थ सुनाउनु हुन्छ ।

६ महिनादेखि सीमाना बन्द रहेकोले व्यापार शुन्य भएपछि भाडासमेत तिर्न नसक्दा रुपैडियाका आधाजति व्यवसायीले पसल खाली गरेर त्यहाँबाट नानपारा, बाबागञ्ज र बहराइच गइसकेको उहाँले जानकारी दिनुभयो । विगतमा यति बेला दशका लागि किनमेल गर्ने नेपाली उपभोक्ताले गर्दा रुपैडियामा अत्याधिक भीडभाड हुन्थ्यो तर अहिले सीमाना बन्द रहेका कारण बजार सुनसान रहेको र अधिकांश पसल बन्द रहेको बताउनुभयो ।

दैनिक सयौंको संख्यामा नेपाली उपभोक्ताहरु सामान खरिद गर्न आउने गरेकोेले एक मिनट पनि फुर्सद नहुने गरेकोमा अहिले पसल खोलेर बस्दा दिनमा मुश्किलले २० जना स्थानीय उपभोक्ता पनि नआउने गरेको रुपैडियाका व्यवसायी ओमकार वैश्यले बताउनुभयो । उहाँले व्यापार शून्य भएपिछ रुपैडियाका अधिकांश व्यवसायीको करोडौं लगानी डुबेर व्यापारी पलायन भइसकेको बताउनुभयो ।

चम्कियो नेपालगञ्जको व्यापार

सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि सीमापारी किनमेल गर्न जानेहरु रोकिएपछि नेपालगञ्जको व्यापार भने चम्किएको छ । सीमापारीको व्यापार पुर्ण रुपमा बन्द भएपछि अहिले नेपालगञ्जमा स्थानीयको मागलाई पूरा गर्न नसकिएको स्थानीय व्यवसायीले बताए ।

नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारीले सीमापारीको किनमेल बन्द भएका कारण अहिले नेपालगञ्जको व्यापार ह्वात्तै बढेको तथा आवश्यक सामाग्रीको माग पूरा गर्न नसकिएको बताउनुभयो । उहाँले ६ महिना पहिलेसम्म ग्राहक कुरेर बस्नुपरेकोमा अहिले अधिकांश किराना तथा खाद्य व्यवसायीलाई दिनभर फुर्सत नहुने गरेको बताउनुभयो ।

संघका उपाध्यक्ष प्रमोद अग्रवालले अब सधैंका लागि उताबाट व्यक्तिगत किनमेल गर्न नपाउने व्यवस्था गर्नु पर्ने बताउनुभयो । यसैबीच नेपालगञ्ज उद्योग वाणिज्य संघले पनि सीमापारीको किनमेल बन्द भएपछि बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरा बजारको व्यापार बढेको जनाएको छ । संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले नेपाली उपभोक्ताले सीमापारी गएर गर्दै आएको खरिदारी बन्द भएपछि नेपालगञ्जलगायत जिल्लाका सहरी क्षेत्रको व्यापार धेरै बढेको बताउनुभयो ।

उहाँले अब सधैंका लागि यही व्यवस्था गर्नुपर्ने तथा सीमापारीबाट किनमेल गर्नेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने नियम बनाउनुपर्ने माग गर्नुभयो । संघले सीमाना बन्द भएका कारण अधिकांश नेपालीहरुले घरघरमा तरकारी उत्पादन थालेको र स्वदेशमै बनेका वस्तुहरुको प्रयोगमा पनि बृद्धि भएकोले आत्मनिर्भरता बढेको बताएको छ ।