काठमाडौं, असोज १८ । मन्त्रिपरिषद पुनर्ठन र राजनीतिक नियुक्तिलगायतका एजेन्डामा छलफल गर्न आज बोलाइएको नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज चार बजेका लागि बोलाइएको सचिवालय बैठक अनिश्चतकालका लाथि स्थगित भएको जानकारी दिनुभएको हो । प्रवक्ता श्रेष्ठले अर्को बैठकको मिति तय नभएको बताउनुभयो । यसअघि शनिबार चार बजे बस्ने भनिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्यसल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापासहित सचिवालय र सुरक्षाकर्मीमा एकैपटक कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री ओली शनिबारदेखि नै आइसोलनमा रहनुभएको छ भने अति आवश्यकबाहेकको भेटघाट बन्द गर्नुभएको छ । यद्यपी उहाँले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहितका केही नेताहरुसँग भने आज छलफल गर्नुभएको छ । प्रधानमन्त्री ओलीको बिहीवार मात्रै पिसिआर रिपोर्ट नेगेटिभ आएको र त्यसयता सल्लाहकार र संक्रमित सुरक्षाकर्मीसँग भेट नगरेको कारण उच्च सतर्कतासहित अति जरुरी भेट गर्नुभएको हो । गत असोज ४ मा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने र विविध एजेन्डा थिए । विविधमा पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीमा रिक्त सदस्यहरूको पदपूर्ति र कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटी सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्नेलगायतका विषय रहेका छन ।
असोज ४ गते बैठकले तय गरेका दुई एजेण्डामा मात्रै छलफल भएको थियो । असोज ४ गते कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे मात्र छलफल भएको थियो । असोज ६ गते बालुवाटारमा बसेको बैठकमा बैठकले लामो समयदेखि संवैधानिक निकायका रिक्त पदमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको थियो । बैठकले १० दिनभित्र बाँकी सांगठनिक एकीकरणको प्रस्ताव बनाउन अयक्षद्वय ओली र दाहालसँगै महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो । महासचिव पौडेलले प्रस्तावमाथि काम गरे पनि अझै टुंगिन सकेको छैन । सोही बिषयमा सचिवालयबाट निर्णय गर्न बैठक तय भए पनि अनिश्चितकालका लागि स्थगित भएको हो ।
नेकपामा पार्टी एकता भएको साढे २ बर्ष बितिसक्दा पनि केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्यूरो, केन्द्रीय विभागहरू, प्रदेश, सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवास क्षेत्रको संगठनात्मक एकता टुंगिएको छैन । यस्तै सम्पत्ति र अभिलेखको समेत एकीकृत हुन सकेको छैन ।
सांगठानिक एकता नटुंगिदा कार्यकता कामबिहीन बनेका छन भने आक्रोशसमेत पैदा भएको छ । सचिवालय बैठक पर सर्नुका साथै पार्टीको कामसमेत अघि बढन नसक्दा आगामी चैतमा तय भएको महाधिवेशनकै मितिमा समेत असर पर्ने देखिएपनि जिम्मेवार नेताहरु काम अघि बढाउन इच्छुक देखिएका छैनन । सत्ता र नियुक्तिमा मात्रै आँखा गाढेर नेताहरुले पार्टीको सांगठानिक एकता र महाधिवेशनका लागि गर्नुपर्ने काम सवै बेवारिसे बनाएका हुन ।
प्रतिक्रिया दिनुहोस्