जनता टाइम्स

१९ आश्विन २०७७, सोमबार ११:४४

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा


काठमाडौँ, असोज १९

सर्वोच्च अदालतमा कोरोना संक्रमण छिरेपछि प्रधानन्यायाधीशसहित १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा बस्नु भएको छ । एक जना न्यायाधीश र केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा बस्नु भएको हो ।

अधिकाशं न्यायाधीश होम क्वारेन्टाइनमा बसेपछि आज दुई जना न्यायाधीश मात्रै सर्वोच्च अदालत पुग्नु भएको छ । ती दुई न्यायाधीश सम्मिलित एकल र संयुक्त इजलासले मात्रै मुद्दाको सुनुवाइ गर्नेछ । सर्वोच्च अदालतमा हाल १९ न्यायाधीश छन् । तीमध्ये एक जनालाई संक्रमण देखिएको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा बाहेकका १६ न्यायाधीश क्वारेन्टाइनमा छन् । एकजना न्यायाधीश भने संक्रमणका कारण आइसोलेसनमा छन् ।

उनीहरु केही दिन होम क्वारेन्टाइनमा रहने र त्यसपछि स्वाब परीक्षण गर्ने तयारी छ । संक्रमण देखिएका न्यायाधीशसहित अरु अधिकांश न्यायाधीश केही दिनअघि सर्वोच्च अदालतभित्रै सामूहिक बैठकमा थिए । सर्वोच्च अदालतले आइतबार सूचना जारी गरी एक न्यायाधीश र केही कर्मचारीमा संक्रमण देखिएकाले उनीहरुको सम्पर्कमा रहेकाहरु क्वारेन्टाइनमा रहेको जनाएको थियो ।