बुटवल, असोज १९
प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। आज बिहान बुटवलमा बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न भनेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने र राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गर्नुभयो ।’ अब केहीबेरमा प्रदेश सभाको बैठक बस्दै छ। प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि संशोधन पेश गर्नका लागि १८ घण्टाको समय निर्धारण गरिएको थियो ।
यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव पारित गर्नका लागि निर्माण गरिएको प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावसम्बन्धी आन्तरिक कार्यविधि, २०७७ मा प्रस्तावमाथि छलफल समाप्त भएको १८ घण्टाभित्र चित्त नबुझेका प्रदेशसभा सदस्यले संशोधन पेश गरिसक्नुपर्ने नियम बनाइएको छ ।
सामान्यतया विधेयकका लागि भने संशोधन प्रस्तावका लागि ७२ घण्टाको समय दिइने प्रचलन भए पनि सभामुखले अधिकार प्रयोग गर्दै १८ घण्टाको मात्रै समय दिएका छन् । प्रस्ताव पारित हुनका लागि प्रदेशसभामा रहेका ८७ सांसदमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ ।
संविधानले प्रदेशसभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सकिने उल्लेख गरेको छ । ६१ जना सांसद रहेको नेकपा संसदीय दलका सबै सदस्यले सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्