जनता टाइम्स

१९ आश्विन २०७७, सोमबार १४:०१

प्रदेश–५ स्थायी राजधानी : ससंदीय सर्वोच्चताको नारा लगाउदै कांग्रेसद्वारा संसदीय प्रक्रिया अवरोध


बुटवल, असोज १९

प्रदेश गठन भएको तीन वर्ष पुग्न लागेको अवस्थामा पनि तीन वटा प्रदेशले नाम र स्थायी राजधानी तोक्न सकेका छैनन् । प्रदेशसभाको दुईतिहाई मतले यो तोक्ने अधिकार छ ।

तर, प्रदेश–५ लाई भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश सभालाई नै बन्धक बनाएको छ । ८७ सदस्यीय प्रदेशसभामा जम्मा १९ जना सांसद रहेको कांग्रेसले आफुले भनेको स्थानमा स्थायी राजधानी हुनुपर्ने भन्दै संसद अवरुद्ध बनाएको छ । संसदमा प्रवेश गरेको कुनै पनि मुद्दा संसदीय प्रक्रियाबाट पुरा गर्नुपर्ने हुन्छ । तर, कांग्रेसले भने आजको बैठकमा विचित्रको प्रस्तुती प्रस्तुत गरेको छ ।

सरकारले दाङको भलुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएपछि कांग्रेस सडकमा हिंसासहित प्रदेशसभामा अवरोध गर्ने अवस्थामा पुगेको छ । त्यो पनि संसदीय सर्वोच्चको दुहाई दिदै । बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताब ल्यानुपर्ने बताउनु भयो ।

लगत्तै सांसदहरुले उठेर र त्यसपछि रोष्टम घेरेर विरोध गरे । विरोधपछि सभामुखले दुई बजेसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गर्नुभएको छ । नेकपाले भने भालुवाङको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । संसदमा सत्तारुढ नेकपाका दुई तिहाई भन्दा बढि सदस्य रहेका छन् ।