तातोपानी (सिन्धुपाल्चोक), असोज १९ । बाढीपहिरोको कारण असार २५ गतेदेखि बन्द भएको चीनसँगको प्रमुख ब्यापारिक स्थल तातोपानी नाका आजबाट खुलेको छ । सिन्धुपाल्चोक र चीनको तिब्बत न्यालामका अधिकारीबीच असोज १३ गते भएको सहमतिअनुसार आजबाट पुनः तातोपानी नाका खुलेको हो ।
तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालाबहादुर खत्रीले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार नाका खुलेसँगै चीनको स्वाशासित क्षेत्र खासाबाट छ वटा चिनियाँ मालबाहक कन्टेनरले कपडा र कच्चा पदार्थ मितेरी पुल नजिकै रहेको चाइनातर्फको र्याडमा ल्याइदिएको थियो । एक चीनियाँ कन्टेनर बराबर दुई नेपाली कन्टेनर सामान हुने गर्छ । सोहीअनुसार १२ कन्टेनर सामान आज नेपाल भित्रिएका छन । तर निर्यात भने भएको छैन् ।
खत्रीका अनुसार कन्टेनरमा आएको सामान चिनियाँ चालक र मजदुरले मितेरी पुल ल्याईदिएका थिए । उक्त सामान सिन्धुपाल्चोकतर्फका चालक र मजदुरले मितेरी पुल पुगेर तातोपानी सुख्खा बन्दरगाहको माथिल्लो भन्सार कार्यालयमा झारेका छन । चीनियाँ र नेपाली चालक र नाका सञ्चालन भएपछि मजदुरको पाँच, पाँच दिनमा कोभिड १९ को परीक्षण हुने ब्यवस्था मिलाइएको छ । नाका सञ्चालनका लागि नेपालतर्फ २९ जना चालक र मजदुरको टोली सामान लोड र अनलोड गर्ने प्रबन्ध मिलाइएको छ ।
भन्सार प्रमुख खत्रीका अनुसार आज बेलुकी खासाबाट पुनः छ ओटा कन्टेनर सामानसहित मितेरी पुल आइपुग्ने उहाँले बताउनुभएको छ । ती सामान पनि मेडिकल प्रोटोकल पूरा गरी भन्सार कार्यालय ल्याइने छ । भन्सार कार्यालयका प्रमुख खत्रीका अनुसार नेपाल भित्रिएका उक्त सामानलाई मेडिकल प्रोटोकलअनुसार जाँचपास गरी केही दिनभित्र राजधानी काठमाडौं पठाइने छ ।
तातोपानी नाका बाढीपहिरोका कारण असार २५ गतेबाट बन्द थियो । २०७२ बैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा बन्द भएको नाका २०७६ जेठ १५ गते सूचारु भएको थियो । सुचारु भएको डेढ महिना नबित्दै बाढी पहिरोले अवरुद्ध बनेको हो । खासामा नेपाली सामान अडकिएपछि नेपाल सरकारको बिशेष आग्रहमा चीन सरकारले तातोपानी नाका पुनः सञ्चालन गर्ने सहमति जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्