जनता टाइम्स

२० आश्विन २०७७, मंगलवार १६:०८

प्रदेश–५ : राजधानी राप्ती उपत्यका र नाम लुम्बिनी


बुटवल, असोज २०

अढाई वर्ष भन्दा लामो समयपछि प्रदेश–५ ले आफ्नो नाम र स्थायी राजधानी तोकेको छ । प्रदेशसभाको दुई तिहाई बढि मतले स्थायी राजधानी र लगभग सहमति जस्तै गरी नामाकरण गरेको हो ।

सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी सोनामले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनाराको मैदानी भाग राप्ती उपत्यका (देउखुरी)लाई प्रदेशको राजधानी तोक्ने प्रस्ताव गर्नुभएको थियो ।

लगत्तै सभामुख पूर्णबहादुर घर्तीलेले कानुनमन्त्रीले गरेको प्रस्ताव मतविभाजनका लागि अगाडि बढाउनु भएको थियो । मतदानमा पक्षमा ६९ र विपक्षमा जम्मा १३ मत परेको थियो । ८७ सांसद मध्ये ८२ जनामात्र मतदानमा सहभागी भएका थिए ।

यसैगरी कानुनमन्त्री केसीले लुम्बिनी नामाकरणका लागि गरिएको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको समेत समर्थन रहेको थियो । सो प्रस्तावको पक्षमा ७९ मत र विपक्षीमा केवल ४ मत परेको थियो ।

प्रदेश–५ को नामाकरणमा भने ८३ सांसदले मतदानमा भाग लिएका छन् । स्थायी राजधानी तोक्ने मतदानमा भाग नलिएका एक सांसदले भने नामाकरणको लागि भएको मतदानमा भाग लिएका थिए । योसँगै अब प्रदेश–१ र प्रदेश–२ ले मात्र नामकरण र स्थायी राजधानी तोक्न बाँकी छ ।