जनता टाइम्स

२१ आश्विन २०७७, बुधबार १०:२५

कोरोनाका कारण बामदेवविरुद्धको मुद्दाको सुनुवाइ प्रभावित, अब के हुन्छ ?


काठमाडौं, असोज २१

नेकपा उपाध्यक्ष समेत रहनु भएका वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गरेको विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको छ । आजका लागि हुने भनिएको सुनुवाई प्रभावित बनेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण भएपछि अन्य १६ जना न्यायाधीश होम आइसोलेसनमा बसेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु नै होम–आइसोलेशनमा बसेपछि बामदेवको मुद्दा दशै अगाडी सुनुवाई हुने सम्भावना कम रहेको स्रोतले बताएको छ ।

गएको शुक्रबार वामदेव पक्षका वकिलहरु धेरै भएका कारण सुनुवाई नसकिँदा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । बुधबार सुनुवाई हुने भनिए पनि आज जम्मा दुई वटा इजलास तोकिएको छ । न्यायाधीश हरि प्रसाद फुयाँलको एउटा र अर्को न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र वमबहादुर श्रेष्ठको इजलासमात्र तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै अशोज ५ गते रिट दायर गरेका थिए । रिटको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले गौतमलाई ‘थप संवैधानिक नियुक्ति नदिन’ र संवैधानिक इजलासमा थप सुनुवाइ गर्न आदेश दिएको थियो ।