जनता टाइम्स

२१ आश्विन २०७७, बुधबार १२:२५

चावहिल चोकमा शुभारम्भ गरियो आकाशे पुल


पार्किङ् भवन बनाउने कसैसँग ठाउँ छ भने, वडामार्फत प्रस्ताव पठाउनोस्, हामी बनाउँछौं : मेयर शाक्य

काठमाडौं, असोज २१

कोविड महामारीको समस्या समाधान गर्दै पार्क निर्माण र हरियाली प्रबर्धनलाई जोड दिएको बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले वडा ६ मा मात्र करीब ८ करोड रुपैयाँ लागतमा २ वटा पार्क निर्माण भइरहेको बताउनु भएको छ । आज बिहान आकाशे पुलको उद्घाटन, वडा भवन र पार्क निर्माणस्थलको अवलोकनपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

वडा ७ चावहिल चोकमा आकाशे पुलको उद्घाटनपछि मेयर शाक्यले वडा ६ को भवन निर्माण स्थल, त्यही वडाको निर्माणाधीन बागमती नगर पार्क र शान्ति नमूना पार्क, वडा ७ को मचागाः पार्कको अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा वडा ६ कार्यालय भवन निर्माण कार्यको प्रगति विवरण लिनुभएको थियो ।

त्यस्तै बागमतीनगर र शान्ति नमूना पार्क निर्माण स्थलको अवलोकन गरेपछि उहाँले भन्नुभयो,‘महानगरका क्षेत्रगत काममध्ये आजको अवलोकन यात्रु सुरक्षा तथा ट्राफिक व्यवस्थापन, पार्क निर्माण र हरियाली प्रत्रर्धन कार्यक्रममा केन्द्रीत छ ।’ खुल्ला ठाउँलाई अहिले पनि जोगाउन सकिएन भने भोलि शहरले झन् ठूलो संकट व्यहोर्नुपर्ने हुन सक्छ । त्यसैले हामीले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने अभियान थालेका हौं ।

मेयर शाक्यले थप्नुभयो,‘शहरको अर्को ठूलो समस्या भनेको ट्राफिक व्यवस्थापन, पैदल यात्रु सुरक्षा र पार्किङ् व्यवस्थापन हो ।’ पैदल यात्रु सुरक्षाका लागि आकाशे पुल निर्माण गरिरहेका छौं । पिक एण्ड ड्रप लगायत अभियानबाट ट्राफिक व्यवस्थापनमा प्रयास गर्दैछौंं ।

मेयर शाक्यले, पार्किङ् व्यवस्थापनको प्रसङ्ग उठाउँदै भन्नुभयो, ‘यदि कसैले जग्गा उपलब्ध गराउँछ भने पार्किङ् भवन हामी बनाइदिन्छौं । म तपाईमार्फत सबैमा आव्हान गर्न चाहन्छु । जग्गा भए वडामार्फत महानगरमा प्रस्ताव लिएर आउनोस् ।’

आकाशे पुलको संख्या थपिँदै

फलामबाट बनेको चावहिलको पुलको लागत ८२ लाख ६६ हजार ७८३ रुपैयाँ हो । बोलपत्रबाट छनौट भएको कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको हो । २०७६ कार्तिक २७ गते नै सम्झौता गरेर काम थालनी गर्ने बेलामा सडक किनारा क्षेत्र कम भएकोले निर्माण कार्य हुन सकेको थिएन ।

जग्गाको समस्या समाधान गरेर माघ १६ गते पुलको शिलान्यास गरिएको थियोे । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो । आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ ।

योसँगै वडा ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ । महानगरका मेयर शाक्यकाअनुसार मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेका छन् । यो आवश्यकता पनि हो । उहाँले भन्नुभयो,‘माइतीघर मण्डला क्षेत्रको पुल तयार भइसकेको छ । यो बर्ष हामी अन्य बिभिन्न ठाउँमा निर्माण गर्दैछौं ।’

वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले यसैको समानान्तर हुने गरी अर्को पाटोमा पनि यस्तै प्रकारको पुल बनाउन आवश्यक भएको बताउनुभयो । प्रक्रिया यसका लागि प्रक्रिया अगाडि बढाइनेछ । आकाशे पुलले पैदल यात्रुलाई त सजिलो हुन्छ नै उनीहरुबाहेक दिनरात सडकमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको काममा पनि धेरै खुकुलो हुने उहाँले सुनाउनुभयो ।