जनता टाइम्स

२१ आश्विन २०७७, बुधबार १२:४३

यतीको सिमरा उडान शुरु : भाडादर दुई हजार


बारा, असोज २१

निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौं नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्र्रो गन्तव्य हो । एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजदेखि सिमरा उडान शुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९ः१० बजे पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४ः४५ बजे हुनेछ । ‘अब सिमरा नियमितरुपले दैनिक दुई उडान हुनेछन् र यात्रुको माग भए उडान सङ्ख्या थप गर्न सकिनेछ । उच्च सर्तकता अपनाएर उडान शुरु गरेकाले यात्रुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ’, प्रवक्ता बर्तौलाले भन्नुभयो । आज पहिलो दिन काठमाडौं–सिमरा–काठमाडौं उडान गर्ने यात्रुमध्ये गोलाप्रथामार्फत एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइनेसमेत उहाँले जानकारी दिनुभयो ।

यतीले हालका लागि प्रमोशनल भाडा काठमाडौँ–सिमरा–काठमाडौंको एकतर्फी रु एक हजार ९९९ तोकेको छ । यी गन्तव्यको टिकट एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ । केही दिनअघि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सी र मोबाइल एप्समार्फत टिकट खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजनासमेत अघि सारेको छ ।

विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।