जनता टाइम्स

२१ आश्विन २०७७, बुधबार १४:२८

‘कात्तिक १ बाट धार्मिक-सांस्कृतिक क्षेत्र खुल्छ’


ताप्लेजुङ, असोज २१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताउनुभएको छ। ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा आज गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले सुकेटारमा सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः निश्चित सङ्ख्यामा खोल्दै लैजाने सरकारको तयारी छ ।’

मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कात्तिकको सुरुदेखि क्रमशः खोल्दै लगिने बताउँदै दशैँ, तिहार जस्ता चाडबाड नजिकिएकाले र लामो समयदेखिको बन्दाबन्दीले धार्मिक तथा सांस्कृतिक पर्यटनको क्षेत्र नै नराम्रोसित प्रभावित भएको अवस्थामा स्वास्थ्य सतर्कतासहित क्रमशः खोल्दै लैजाने स्पष्ट पार्नुभयो ।

यसअघि आज बिहान मन्त्री भट्टराईले ओलाङचुङ्गोलास्थित बिओपीको उद्घाटन गर्नुभएको थियो । चीनसँगको सीमावर्ती क्षेत्रमा बिओपी स्थापनासँगै सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती क्रमशः घट्दै जानेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत सहभागि रहनुभएको थियो ।