जनता टाइम्स

२२ आश्विन २०७७, बिहीबार १७:४१

पूर्वमाओवादीका तीनबाहेक सवै मन्त्री हटाउन प्रचण्डको प्रस्ताव, प्रधानमन्त्री ओली असहमत


यसिमा महत / काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड पूर्वमाओवादीतर्फका तीन जनाबाहेक सवै मन्त्री हटाउने निश्कर्षमा पुग्नुभएको छ । आफू निकट नेताहरुसँगको परामर्शपछि कार्यकारी अध्यक्ष प्रचण्ड तीन जनाबाहेक सवै मन्त्री हटाउने र नयाँ पठाउने निश्कर्षसहित अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम दिनुभएको हो ।

खुमलटार स्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार अध्यक्ष प्रचण्डले बुहारी बीना मगरसहित गृहमन्त्री रामबहादुर थापा र उर्जामन्त्री बर्षमान पुनबाहेक पूर्वमाओवादीका सवै मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई प्रस्ताव गर्नुभएको छ । कार्यकारी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर खानेपानी मन्त्री हुनुहुन्छ । प्रचण्डको यस प्रस्तावअनुसार मन्त्रिपरिषद हेरफेर भए शिक्षामन्त्री गिरिराजमणि पोखरेल, बनमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव सरकारबाट बाहिरिनु पर्नेछ ।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्याएको बेला प्रचण्डले यस्तो प्रस्ताव गर्नुभएको खुमलटार स्रोतको भनाई छ । यस्तै प्रचण्डले पाँच जनालाई मन्त्री बनाउन पनि प्रस्ताव गर्नुभएको छ । सो नाममा यसअघि हटाइएका मातृका यादवसमेत हुनुहुन्छ । प्रधानमन्त्री ओलीसँगको छलफलमा कार्यकारी अध्यक्ष प्रचण्डले यादवसहित पम्फा भुषाल, जनार्दन शर्मा, देव गुरुङलाई मन्त्री बनाउनै पर्ने अडान राख्नुभएको खुमलटार स्रोतले जनाएको छ । प्रचण्डको यी नामको बिषयमा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नदिएको स्रोतले बतायो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पूर्वमाओवादी र पूर्वएमाले भन्दै मन्त्रिपरिषद बिस्तारमा हटाउने र समावेश गर्ने काम पार्टी एकताबिपरित हुने भन्दै त्यसो नगर्ने अडानमा हुनुहुन्छ । मन्त्रिपरिषद पुनर्गठनमा सहमति नभए प्रधानमन्त्री ओली रिक्त रहेको तीन मन्त्री मात्रै थप्ने योजनामा हुनुहुन्छ ।

हाल अर्थ, सञ्चार र सहरी बिकाश मन्त्रालय नेतृत्वबिहीन रहेको कारण प्रधानमन्त्री आफैले राख्नुभएको छ । प्रधानमन्त्री ओली महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री बनाउने र बाँकी मन्त्रालयमा सुरेन्द्र पाण्डे र जनार्दन शर्मालाई बनाउने योजनामा हुनुहुन्छ । स्रोतका अनुसार अर्थमन्त्रीमा महासचिव बिष्णु पौडेल नियुक्त गरेको खण्डमा कार्यकारी अध्यक्ष प्रचण्डले महासचिवबाट हटाउनु पर्ने भन्दै छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई अर्थमन्त्री बनाएपछि महासचिवबाट हटाउने योजनाका साथ प्रचण्ड अघि बढनुभएको खुमलटार स्रोतको भनाई छ ।  आज भएको छलफलमा समेत ठोश निर्णय हुन नसकेपछि प्रधानमन्त्री रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने निश्कर्षमा पुग्नुभएको हो ।