बुटवल, असोज २२ । मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिनुभएको छ । प्रदेशको राजधानी र नामांकणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले अब गुरुयोजनाको टुंगा नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले यसअघि नै दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ । कानुनी रुपमा जग्गाको किनबेच रोक लगाइसकेको भएपनि गैरकानुनी रुपमा किनबेच हुनसक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको हो ।
उहाँले राप्ती उपत्यकाको राप्ती गाउँपालिका, गढवा र शितगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको बताउनुभयो । राप्ती उपत्यका भन्नाले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा पर्न नहुने उहाँले प्रष्ट पार्नुभयो । राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको उहाँले बताउनुभयो ।
गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमशः बनाइदै जाने उहाँको भनाई थियो । उहाँले नक्शाको डिजाइन, गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमशः अघि बढ्ने जानकारी दिनुभयो । ‘अहिलेलाई हेरेर होइन, ५० वर्षपछिसम्म पनि व्यवस्थित शहर रहने गरी प्लानिङ गर्छौ, योजनाका माध्यमबाट मान्छेको सोंच बदल्छौं,’ मुख्यमन्त्री पोखरेलको भनाई थियो ।
राजधानी र नामको टुंगो सही ढंगले लगाएर संघीयताको वास्वविक कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सफल भएको भन्दै मुख्यमन्त्री पोखरेलले सबैलाई धन्यवाद दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्