जनता टाइम्स

२४ आश्विन २०७७, शनिबार १४:३६

‘मकै भटमास र गुन्द्रक’ले अनन्तलिङ्गको डाँडामा स्वागत


भक्तपुर, असोज २४

ग्रामीण पर्यटनको सुरुवात गर्दै सूर्यविनायक नगरपालिका वडा नम्बर–४ दधिकोटको अनन्तलिङ्गमा सामुदायीक होमस्टे सुरु भएको छ । पाहुनालाई अनन्तलिङ्गको डाँडामा रहेको सामुदायीक होमस्टे (घरबास) मा आउँदा मकै, भटमास, मोही र गुन्द्रकले स्वागत हुनेछ । स्थानीय क्षेत्रमा उत्पादन भएका तरकारी र खाद्य सामाग्रीको प्रयोग गर्दै होमस्टे सञ्चालनमा आएको छ ।

मंगलबार एक कार्यक्रमका बीच सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले होमस्टेको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले होमस्टेबाट पर्यटन प्रबद्र्धन गर्ने सकेमा यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । कला संस्कृतिको संरक्षण गर्दै आवश्यक पूर्वाधारको समेत बनाएर होमस्टे सञ्चालन हुँदा धेरैलाई फाइदा पुग्छ, नगर प्रमुख थापाले भन्नुभयो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख जुना बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरकी उपप्रमुख सरिता कुँवर, वडाअध्यक्ष उत्तम थापालगायतले सामुदायिक होमस्टेले रोजगारीको सिर्जना हुनुका साथै आर्थिक विकास हुने बताउनुभयो । हाल ७ वटा घरमा पाहुना राख्ने गरेर होमस्टे सञ्चालन भएको र निकट भविष्यमा नै ११ वटा घरमा पाहुना राख्न सकिने अनन्तलिङ्ग सामुदायीक होमस्टेका सचिव कमल न्यौपानेले बताउनुभयो ।

बेलुकाको खाना, बसाइ र बिहानको नास्ता गरेर १ हजार ३ सय रुपैयाँमा गाउँले परिवेश भएको सुन्दर रमणीयस्थल अनन्तलिङ्गमा पर्यटकहरुले रमाउन पाउने छन् । त्यस क्षेत्रबाट काठमाडौँ उपत्यका, सुन्दर हिमालय दृश्य, अनन्तलिङ्गेश्वर मन्दिरको दर्शन गर्न सकिने छ । अरनिको राजमार्गबाट केही मिनेटको दूरीमा नै गन्तव्यमा पुग्न सकिन्छ ।