जनता टाइम्स

२५ आश्विन २०७७, आईतवार ०२:२५

अध्यक्षको उम्मेद्वार बन्दै माधव नेपाल, यस्तो छ तयारी


काठमाडौं, असोज २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेद्वार बन्ने संकेत दिनुभएको छ । नेकपा एमालेलाई १५ बर्षसम्म नेतृत्व गर्नुभएका बरिष्ठ नेता नेपालले एक टेलिभिजनसँगको अन्तर्वार्तामा आगामी महाधिवेशनमा अन्तिम पटक अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने योजनामा आफू रहेको खुलासा गर्नुभएको हो ।

उहाँले एउटै ब्यक्ति लगातार नेतृत्वमा बसिरहन नहुने आफ्नो प्रष्ट मान्यता पनि राख्नुभएको छ । ‘एउटै ब्यक्ति लगातार पदमा बसिरहन हुन्न, यो कुरा मैले शीर्ष नेताहरुलाई पनि भनिसकेको छु,’ इमेज टेलिभिजनमा पत्रकार जगदीश खरेलसँगको अनन्तर्वार्तामा बरिष्ठ नेता नेपालले भन्नुभयो, ‘७०–७५ बर्ष भन्दा बढी उमेरमा पनि पदमा बस्नुहुन्नछ, आगामी एकता महाधिवेशनमा अन्तिम पटक म अध्यक्षमा उठने संभावना छ, त्यसपछि भने म दावी गर्दिन ।’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नेपालले आफू बोलेपछि अडानबाट कहिल्यै पछि नहटने भन्दै अव नेकपामा नेतृत्व हस्तान्तरणको बहश चलाउनु पर्ने आवश्यकता पनि औल्याउनु भयो ।

‘एउटै ब्यक्ति लगातार धेरै समयसम्म बस्नु हुँदैन । एउटै ब्यक्ति कतिसम्म बसिरहने ? अव हामी नै कति समयसम्म बसिरहने ?’ नेपालको प्रश्न थियो । उहाँले आगामी एकता महाधिवेशन सहमतिमै होस भन्ने चाहे पनि सहमति वा प्रतिस्पर्धा दुवैका लागि तयार हुनुपर्ने संकेत गर्नुभयो । ‘महाधिवेशनमा नेतृत्व चयन कि त सहमतिबाट हुन्छ, कित प्रतिस्पर्धामा गएर कार्यकर्ताको निर्णयबाट हुन्छ । सकभर सहमतिबाटै होस भन्ने चाहना छ,’ नेपालले भन्नुभयो ।

केपी कमरेडसँग २०२९ सालको अन्तिमदेखि सहकार्य भएको हो । ३० सालबाट जेल पर्नुभयो, २०४४ सालसम्म । मेरो सम्पर्क भएको प्रचण्ड भन्दा पहिला केपी कमरेडसँगै हो । त्यसकारण मैले केपी ओलीलाई शत्रु ठान्नुपर्ने कुनै कारण छैन । बिरोध गर्नुपर्ने पनि कुनै कारण छैन

बरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बिधि र पद्धतीको बिषयमा मात्रै फरक धारणा रहेको भन्दै कुनै टकराव नरहेको बताउनु भयो । ‘केपी कमरेडसँग २०२९ सालको अन्तिमदेखि सहकार्य भएको हो । ३० सालबाट जेल पर्नुभयो, २०४४ सालसम्म । मेरो सम्पर्क भएको प्रचण्ड भन्दा पहिला केपी कमरेडसँगै हो । त्यसकारण मैले केपी ओलीलाई शत्रु ठान्नुपर्ने कुनै कारण छैन । बिरोध गर्नुपर्ने पनि कुनै कारण छैन,’ बरिष्ठ नेता नेपालले भन्नुभयो ।