जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार १२:५८

यी हुन ‌२०७६/७७ को बजेटका मुख्य उद्देश्य तथा प्राथामिकता


काठमाण्डौं, जेठ १६

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेटका उद्देश्य तथा प्राथामिकतामा सामाजिक न्याय सहितको द्रुत आर्थिक विकास रहेको बताउनु भएको छ ।

संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै नागरिकका मौलिक हक र अधिकारका रुपमा रहेका आवश्यकताहरु शीघ्र परिपूर्ति गर्दै जीवनस्तरमा गुणात्मक सुधार गर्ने बताउनु भएको हो ।

उहाँले उपलब्ध स्रोत–साधन, अवसर र क्षमताको उच्चतम उपयोग तथा न्यायिक वितरण गर्दै सामाजिक न्याय सहितको द्रुत आर्थिक विकास गर्ने, र आर्थिक‚ भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा रुपान्तरण हुँदै समुन्नत र समृद्ध समाजवाद उन्मुख अर्थतन्त्रको आधारशिला निर्माण गर्ने बताउनु भएको छ ।

बजेटका उद्धेश्यहरु पुरा गर्न चरम गरिबीको अन्त्य र पिछडिएका क्षेत्र, वर्ग र समुदायको शीघ्र उत्थान गर्दै सामाजिक सुरक्षाको विस्तार सहित लोककल्याणकारी राज्यव्यवस्था निर्माणमा प्रथमिकता दिने उल्लेख गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले उत्पादक शक्तिको विकास, उत्पादन सम्बन्धको रुपान्तरण तथा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र आयवृद्धि गर्ने उल्लेख गर्नु भयो ।

त्यस्तै गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक र कृषि, उद्योग, पर्यटन लगायतका आर्थिक पूर्वाधार विकास, राष्ट्रिय रणनैतिक महत्वका भौतिक पूर्वाधार संरचनाको विकास तथा निर्माण र अधुरा आयोजनाहरुको कार्यान्वयनमा जोड दिने बताउनु भएको छ ।

त्यस्तै विधिको शासन, सार्वजनिक सेवाको प्रभावकारिता, जवाफदेहिता र विकासमा जनसहभागिता मार्फत नागरिकलाई अनुभूति हुने सुशासन प्रबर्द्धन, र स्रोत–साधन, अवसर र जिम्मेवारीको उच्चतम उपयोग गर्न संघ, प्रदेश र स्थानीय तह तथा सहकारी र निजी क्षेत्रबीच सहकार्य गर्ने बजेटमा उल्लेख गर्नुभएको छ ।