जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार १२:३९

आफ्नैलाई फसाएर नेता बन्ने निरजको योजना पर्दाफास


सुर्खेत, असोज २७ । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर केन्द्रीय सदस्य निरज आचार्यले कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीबिरुद्धको अबिश्वास प्रस्तावमा दोहोरो भुमिका निर्वाह गरेको आरोप लागेको छ ।

मुख्यमन्त्री शाहीलाई जसरी पनि हटाउनु पर्छ भन्दै सांसदहरुलाई हस्ताक्षर गराउने उत्प्रेरित गर्न लाग्नुभएका नेकपाका नेता आचार्य अहिले शाहीलाई जोगाउन शीर्ष नेताहरुको आदेश छ भन्दै आफू आधिकारिक ब्यक्ति भएको बताउन थालेपछि उहाँको दोहोरो भुमिका बाहिर आएको हो । कर्णाली प्रदेश सरकारको भविष्यको बिषयमा आज फैसला हुँदैछ । मुख्यमन्त्री शाहीलाई दलको नेताबाट हटाउन भन्दै हस्ताक्षर गरेका १८ जना सांसदहरुको बैठक दिउसो १ बजे बोलाइएको छ ।

हस्ताक्षर गर्ने १८ जना सदस्यमा अध्यक्ष प्रचण्ड समुहका ३ र वरिष्ठ नेता माधव नेपाल समूहका ७ जना सांसद छन । आचार्यले बरिष्ठ नेता नेपालको निर्देशन भन्दै आफैले मुख्यमन्त्रीबिरुद्ध हस्ताक्षर गर्न लगाएका नेपाल पक्षधर ५ जना सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिनुभएको स्रोतले बताएको छ । सुरुमा आचार्यले नै नेपाल निकट ती सांसदहरुलाई मुख्यमन्त्री शाहीबिरुद्ध हस्ताक्षर गर्न लगाएको र अहिले फिर्ता लिनुपर्छ भन्न थालेकोले उहाँको नियतमाथि नै प्रश्न उठेको एक सांसदले जनताटाइम्सलाई बताए ।

‘उहाँ नै हो मुख्यमन्त्री हटाउनु पर्छ भन्दै हस्ताक्षर गर्न अभियान चाल्ने, अहिले आफ्नो लेनदेन गरेर हामीलाई फसाउने जस्तो ब्यवहार भयो,’ ती सांसदले भने । यस बिषयमा जनताटाइम्सले नेता आचार्यसँग बुझ्न सम्पर्क गर्दा फोन उठाउनु भएन । नेपाल पक्षधर ५ जनाले मात्रै हस्ताक्षर फिर्ता लिए शाहीको पद जोगिनेछ । सरकार टिकाउन संसदीय दलमा १७ जना भए पुग्छ । आज बोलाइएको प्रदेशसभा संसदीय दलको बैठकमा हस्ताक्षरकर्ता सवै सांसद उपस्थित भएमा मुख्यमन्त्री शाहीबिरुद्ध बहुमत पुग्नेछ । सांसदहरुको अभियान बिफल पार्न आजै मन्त्रिपरिषद पुनर्गठन गर्ने र आफूतिर बहुमत पार्ने गृहकार्य पनि भइरहेको छ ।