जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार १३:३८

लगेको रकम फिर्ता दिन नमानेपछि कुटपिट गरी हत्या !


भक्तपुर, असोज २७

भक्तपुरमा जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार हुने तीन जनालाई प्रहरी पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, २३ वर्षीय रमेश तामाङ र २७ वर्षीय प्रेम तामाङलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूले गत बुधबार चाँगुनारायण नगरपालिका–८ सुँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनमाथि मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिट पछि उनीहरूले सुनको ब्रासलेट तथा मोबाइल समेत लुटेर भागेका थिए । कुटपिटपछि गम्भीर घाइते भएका योन्जनको उपचारको क्रममा बिहीबार बिहान काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो ।

महाशाखाका अनुसार शेर्पाले योन्जनसँग पैसा लिन बाँकी भएपछि कुटपिट गरेर भएपनि रकम असुल्ने योजनाअनुसार उनिहरु त्यहा पुगेको खुलेको जनाएको छ । ‘उनीहरूका अनुसार १५–१६ लाख लिन बाँकी थियो । तर पुष्टि हुन बाँकी नै छ’, महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले भन्नुभयो, ‘मृतकलाई थाहा थियो तर परिवारसँग सोध्न बाँकी छ । थाहा नहुन पनि सक्छ ।’

रकम दिन आनाकानी गरेको हुँदा शेर्पाले चन्द्र बहादुर योञ्जनलाई कुटपिट गरेर भए पनि रकम असुल्न खोजेका थिए । त्यसको लागि उनले रमेश तामाङको सहयोग लिए । कुटपिट गर्नको लागि उनीहरूले असोज १८ गते योन्जनको घर पहिचान गरी फर्किए । योजना अनुसार रमेश र प्रेम बा ९६ प ७११४ नम्बरको मोटरसाइकलमा गत बुधबार भक्तपुरको सुडाल गएका थिए । उनीहरूले कामी शेर्पालाई साढे ४ बजे भेटेर मृतकको पसलमा गई बियर खाएका थिए ।

पछि उनीहरूले आफन्तलाई जग्गा चाहिएको भन्दै मृतक योन्जनलाई विक्रीबाट आउने फाइदा समेत बाँड्ने भन्दै प्रलोभन देखाएका थिए । जग्गा हेर्ने बहाना बनाएर उनीहरू योन्जनलाई विडोलफाँटतर्फ लिएर गए । त्यसपछि एकान्तमा भएको धानखेतमा लगेर योन्जनलाई उनीहरूले अनुहार, छाती र पेटमा कुटपिट गरेका थिए । उनको साथमा भएको दुई तोला दुई लालको सुन तथा मोबाइल लुटेर फरार भएका थिए । उनीहरूलाई अहिले प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।