काठमाडौं, असोज २७
नेपाल वायुुसेवा निगमका नवनियुक्त महाप्रवन्धक डिम प्रसाद पौडेलले आफ्नो पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई नेपाल सरकारले ४ वर्षको लागि निगमको महाप्रवन्धकमा नियुक्त गरेको हो । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञकारुपमा परिचित उहाँ यसअघि निगम संचालक समितिको सदस्य हुनुहुन्थ्यो ।
मंगलबार आयोजित पदभार ग्रहण कार्यक्रममा संचालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रवन्धक पाएकोमा खुसी व्यक्त गर्नुभयो । कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रशन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रवन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने विश्वास दिलाउनुभयो ।
नवनियुक्त महाप्रवन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भएपनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले निगमलाई गतिशिल बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी संचालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढंगले सिर्जनात्मक काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नायव महाप्रवन्धक गणेशबहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्ने व्यक्ति निगमको महाप्रवन्धक भएर आएकोमा निगमले गति लिने विश्वास व्यक्त गर्नुभयो । आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले निगमसँग पर्याप्त सम्भावना भएपनि हालको समस्याबाट पार पाउन निकै महत्वपुर्ण प्रयास आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्