अर्थप्रदेश १समाचारसमाज

कोरोना कहरमै प्रधानमन्त्रीको गृहजिल्ला झापामा विकासको लहर

  •  
  •  
  •  
  •  

झापा, असोज २८

कोभिड –१९ को बढ्दो सङ्क्रमणका कारण कतिपय विकासका काम प्रभावित भए पनि झापामा सञ्चालित विकासका आयोजनालाई भने खासै प्रभाव परेको छैन । कोरोना कहरकैबीच पनि झापाका १५ ओटा पालिकामा सञ्चालित विकासका योजनामा धमाधम काम भइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमार्फत् सञ्चालित विकासका योजनाहरु यसअघिको बन्दाबन्दीका समयमा केही समय प्रभावित भए पनि त्यसपछि ती योजनाहरु पुनः सञ्चालनमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ (दमक) देखि नेपालकै होचो भू–भागकका रुपमा चिनिएको कचनकवल गाउँपालिकासम्म सञ्चालित विकास निर्माणका आयोजनाले गति लिएका छन् । बाह्रदशी गाउँपालिकाको गौरवको आयोजनाका रुपमा रहेको ‘उज्यालो बाह्रदशी’को काम कोरोना कहरकैबीच सम्पन्न भएको छ भने अन्य ठूला विकास आयोजनाका काम धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताउनुभयो ।

आयोजना अन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्दै गाउँपालिकाले रु चार करोड लागतमा गाउँपालिकाभित्र विद्युत् सेवा विस्तार गरेको हो । अभियान सम्पन्न भएसँगै गाउँपालिकाका सबै नागरिक विद्युत् सेवाको पहुँचमा पुगेका छन् । यसअघि गाउँपालिकाको ६० प्रतिशत घरधुरीले मात्रै विद्युत् सेवा उपयोग गर्दै आएका थिए । स्थानीय तह गठनको पहिलो वर्ष नै हरेक नागरिकको घर–घरमा विद्युत् सेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले उज्यालो बाह्रदशी अभियान घोषणा गर्दै काम शुरु गरेको थियो ।

उज्यालो बाह्रदशीसहित बाह्रदशी गाउँपालिकामा अहिले रु ६ करोड को लागतमा वडा नं ५ स्थित घाग्रा खोलामा पक्की पुल निर्माण कार्य समेत शुरु भएको छ । बाह्रदशी–५ पाख्रीबास पूर्व घाग्रा खोलामा ६ करोड ५९ लाख ३९ हजार ७७५ रुपैयाँमा पक्की पुल निर्माणको काम शुरु भएको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालय भद्रपुरले बजेट उपलब्ध गराएसँगै पुल निर्माणको काम अघि बढेको हो ।

कोरोना कहरकैबीच अहिले बाह्रदशी ५ र ६ जोड्ने सडकको घाग्रा खोलामा पक्की पुल निर्माण भइरहेको छ । त्यस्तै गाउँपालिकाले गौरव आयोजनाका रुपमा बाह्रदशी–६ साधुकुटीमा झण्डै रु १२ करोडको लागतमा भ्यू टावर निर्माणको काम अघि बढाएको छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा रहेको साधुकुटीको विकास गर्ने उद्देश्यले भ्यू टावर निर्माणको काम अघि बढाइएको अध्यक्ष राजवंशीले बताउनुभयो । यो वर्ष गाउँपालिकाले रु एक करोड बजेट विनियोजन गर्दै भ्यू टावर निर्माणको काम अघि बढाएको छ ।

त्यस्तै २२ विगाह क्षेत्रफलमा फैलिएको साधुपर्ती झिललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले ३६ करोड रुपैयाँको लागतमा पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको अध्यक्ष राजवंशीको भनाइ छ । जसका लागि गुरु योजना निर्माण गर्दै काम अघि बढाइएको छ । साधुपर्तीमा दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो पोखरी र नजिकै चारकोसे जङ्गल रहेकाले यस ठाउँको विकास गर्दै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले साधुपर्तीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।

त्यस्तै बाह्रदशी गाउँपालिका–६ कुमालगाउँ जोड्ने सडक निर्माण कार्य अघि बढाइएको छ । रु दुई करोडको लागतमा सडक निर्माण कार्य अघि बढेको हो । यसैगरी मेचेगाउँ, कोनावारी पूर्व अन्धुवा खोलामा पक्की पुल र साधुपर्ती जोड्ने सडकको अन्धुवा खोलामा समेत पक्की पुल निर्माणको काम शुरु गर्न लागिएका अध्यक्ष राजवंशीले बताउनुभयो । यता बाह्रदशी गाउँपालिका– ३ मा रहेको राजगढ बजारलाई स्मार्ट सिटीका रुपमा विकास गरेर लाने उद्देश्यले गाउँपालिकाले रु एक करोडको लागतमा बजार व्यवस्थापनको काम शुरु गरेको छ ।

दक्षिण क्षेत्रकै पुरानो बजारका रुपमा रहेको राजगढको विकाससँगै त्यहाँको मुहार फेरिने अपेक्षासहित बजारको स्तरोन्नति गर्न लागिएको हो । कोरोना कहरकैबीच अहिले राजगढ बजारको स्तरोन्नति भइरहेको छ । नेपालको संविधानले सङ्घीयतामार्फत् सङ्घ, प्रदेश र स्थानीय तहलाई छुट्टाछुट्टै संवैधानिक अधिकार दिएको छ । केही साझा अधिकार छन् भने केही छुट्टाछुट्टै अधिकार हुनेगरीको व्यवस्था गरेको छ । स्थानीय तहको निर्वाचनमार्फत् स्थानीय सरकारको गठन भई गाउँगाउँ एवं घर–घरमा सरकार पुगरेको अवस्था छ अहिले ।

यसरी गठित स्थानीय सरकार अहिले आफ्नो क्षेत्रभित्र विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्न, चाहेजस्तो विकास गर्न तथा स्वतन्त्र एवं जिम्वेवार ढङ्गले काम गरिरहेका छन् । पन्ध्र ओटा स्थानीय तहमध्ये झापाको ‘झापा गाउँपालिका’ मा पनि अहिले विकासको लहर छाएको छ । यो ठाउँ जिल्लाको पुरानो सदरमुकाम पनि हो । कुमरखादत, शरणामति र टाघनडुब्बा गाविस मिलेर बनेको झापा गाउँपालिका मुलुक सङ्घीयतामा जानु अघि विकास निर्माणका दृष्टिकोणले निकै पछि परेको थियो ।

पञ्चायती व्यवस्थामा झापाको सदरमुकाम चन्द्रगढी सरेपछि यो ठाउँको विकास हुन सकेको थिएन । तर, मुलुक सङ्घीयतामा गएसँगै तीन तहको सरकार गठनपछि झापाको मुहार फेरिएको छ । अहिले झापा गाउँपालिकाको सबै वडामा कालोपत्र सडक पुगेको छ भने खोलामा पुल, खाने पानीका लागि ट्याङ्की, कृषकका लागि प्रविधिमैत्री उपकरण, विद्युत् सेवा विस्तार, विद्यालय भवन निर्माणदेखि स्तारोन्नतिसम्मका काम भएका छन् । चालू आर्थिक वर्षमा मात्रै गाउँपालिकाले नौ वटा सडक कालोपत्र गरेको छ ।

गाउँपालिकामा एक नमूना विद्यालयसहित सात वटा विद्यालयमा भौतिक संरचना निर्माण भइरहेको छ भने विपन्न आवास कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकावासीले स्थानीय सरकाको महसुस गरेका छन् । अहिले गाउँपालिकाले सहारा नेपाल र ह्याविट्याटसँगको सहकार्यमा विपन्न परिवारका लागि घर निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताउनुभयो । झापा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा नौ वटा सडक कालोपत्र गर्न रु ११ करोड ७९ लाख ४६ हजार १८२ बजेटको काम सम्पन्न गरेको छ ।

सबै वडाका मुख्य सडकमा कालोपत्र पुर्याउने लक्ष्यसहित गाउँपालिकाले वडागत रुपमा सडक छनोट गर्दै कालोपत्र गरेको गाउँपालिका अध्यक्ष शाहको भनाइ छ । गाउँका सडक फराकिला र कालोपत्र हुन थालेपछि अहिले त्यहाँका स्थानीयवासी हर्षित देखिएका छन् ।गाउँपालिकाले हस्पिटल– सितुमारी– सालमारा सडक कालोपत्रका लागि रु दुई करोड २० लाख ७६ हजार २६९ बजेट विनियोजन गरेको थियो । सोही रकमले यो सडक कालोपत्र भएको हो । यो सडक एसएएस जेभीले कालोपत्र गरेको हो ।

रु एक करोड ३६ लाख ६० हजार ४७१ को लागतमा झापा खानेपानी ट्याङ्की–बालुवाटार–सिमलवारी तथा टेकरिया चौक–सानुमाई सडक कालोपत्र भएको छ । यो वडा नं २ मा पर्छ । यो सडक शिद्धकाली इन्टरनेशनल विल्डर्सले कालोपत्र गरेको हो । वडा नं ४ को बगान उत्तर बच्चुटोल हुलाकी सडक कालोपत्र भएको छ । सतासी–जयलक्ष्मी जेभीले रु एक करोड ५० लाख ५३ हजार ४२१ लागतमा सडक कालोपत्र भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताउनुभयो ।

शिद्धकाली इन्टरनेशनल विल्डर्सले नै गाउँपालिकाको फुलगाच्छी –सिमलवाडी सडक कालोपत्र गरेको छ । सो सडक निर्माणका लागि गाउँपालिकाले रु एक करोड ४७ लाख ३९ हजार ७०९ बजेट विनियोजन गरेको थियो । रु ९६ लाख ८६ हजार ६१७ को लागतमा शान्ति निर्माण सेवाले खर्मेली चौक –तामाङ गाउँ वियर फ्याक्टी सडक कालोपत्र गरेको हो । यसैगरी मदरगाछ बजार वडा कार्यालयसम्म जोड्ने सडकको निर्माणसहित कालोपत्र सम्पन्न भएको छ । सो सडक निर्माणका लागि रु एक करोड ३८ लाख ३६ हजार ४१५ गाउँपालिकाले विनियोजन गरेको थियो ।

वडा नं ६ र ७ मा पर्ने शरणामती चौकदेखि दयालधाम जाने सडक कालोपत्र भएको छ । सो सडक रु एक करोड ३४ लाख ६८ हजार ३ सय मा कालोपत्र गरिएको हो । सो सडक नेपाल पूर्वाधार कन्स्ट्रक्सन जेभीले कालोपत्रे गरेको हो ।अमरपथ पूर्व मुखिया गाउँ–गणित गाउँ–ज्यामिरे चौक हुँदै पश्चिम दोसाखी टोल झापा वजार सडक कालोपत्र भएको छ । यो गाउँपालिकाको वडा नं ३ मा पर्छ । यो सडक कालोपत्रका लागि गाउँपालिकाले रु एक करोड ४९ लाख ६० हजार १३२ लगानी गरेको छ ।

शान्ति खनाल जेभीले सडक कालोपत्र गरेको गाउँपालिकाले जनाएको छ । रु ४५ लाख ३८ हजार ४४३ को लागतमा वडा नं ३ र ४ को शहीद मार्गसमेत कालोपत्र भएको छ । यो सडक नेपाल पूर्वधार कन्स्ट्रक्सनले कालोपत्र गरेको हो । गाउँपालिकाले प्रत्येक वर्ष प्रत्येक वडामा एउटा मात्रै सडक कालोपत्रका लागि छनोट गर्दै कालोपत्र गर्दै आएको छ । गाउँपालिकाभित्रका सबै सडकलाई कालोपत्र गरिसक्ने योजनाअनुसार गाउँपालिकाले सडक कालोपत्रको कामलाई अघि बढाएको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।

पश्चिममा सानो माई र पूर्वमा विरिङ खोलाको कटान र डुवानको चपेटा वर्षौदेखि झेल्दै आएको झापा गाउँपालिकाले यस वर्ष झोलुङ्गे र पक्की पुल निर्माण कार्यलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले खोलामा तटबन्धनसँगै पुल निर्माण गर्दै गाउँपालिकाबासीलाई आवतजावतमा सहजता प्रदान गरेको हो । अहिले वडा नं २ को झापा–कुवाडी सडक खण्डमा पर्ने सानो माईमा रु एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण भइरहेको छ ।

सिमलवाडी–फूलगाच्छी जोड्ने सडक खण्डको सानो माईमा नै ६० लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशनसकीय अधिकृत निरौलाले बताउनुभयो । त्यस्तै कामाटोली–लालमोहर जाने सडक खण्डमापर्ने पर्ने सानु माई खोलामा पक्की पुल निर्माण भएको छ । ७५ लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो । वडा नं १ को लसुनगञ्ज सालमारा सडक खण्डको सानो माइमा नै तीन करोड ६० लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण भइरहेको छ ।

शिक्षाको विकासका लागि गाउँपालिकाले रु एक करोड भन्दा बढी बजेट विनियोजन गरेको थियो । जसमा गाउँपालिकामा सात वटा विद्यालयमा दुई कोठे पक्की भवन निर्माण भइरहेका छन् भने शौचालय र खानेपानीको व्यवस्था, प्रविधिमैत्री सिकाइमा जोड जस्ता कार्यक्रमलाई अघि बढाइएको थियो । प्रत्येक विद्यालयलाई रु १६ लाख का दरले भवन निर्माणमा सहयोग गरेको शिक्षा शाखाका कर्मचारी खड्गप्रसाद खरेलले बताउनुभयो । सङ्घीय सरकारको सशर्त अनुदानमार्फत् डिल्लीराज माध्यमिक विद्यालयलाई नमूना विद्यालय निर्माण गरिँदैछ ।

रु एक करोड ५० लाखको लागतमा डिल्लीराज माध्यमिक विद्यालयलाई नमूना विद्यालयका रुपमा अघि लाने उद्देश्यसहित पूर्वाधार निर्माणको काम अघि बढाइएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले जानकारी दिनुभयो । साविकको कुमरखो, टाघनडुब्बा र शरणामती गाविसलाई समेटेर बनेको झापा गाउँपालिका ९४.१२ वर्ग किलोमिटरमा फैलिएको छ । समुद्री सतहबाट ७० देखि १०० मिटरसम्मको उचारइमा रहेको यो गाउँपालिकामा मिश्रित बसोबास पाइन्छ ।

यहाँका नागरिकको मुख्य पेशा कृषि तथा पशुपालन भएको हुँदा विपन्न तथा मध्यम वर्गीय परिवारको सङ्ख्या यो गाउँपालिकामा धेरै छ । विसं २०६८ को जनगणनाअनुसार ८ हजार २२ घरधुरी रहेको यहाँको कूल जनसङ्ख्या ४१ हजार १३६ जना हो । गाउँपालिकाले सर्वेक्षण गरेर तयार गरेको पाश्र्व चित्रलाई आधार मान्दा वर्षभरि खान पुग्ने परिवार सङ्ख्या दुई हजार १७८ छ । एक हजार ५३० परिवारले मात्रै वर्षभरि खान पुग्ने गरी अन्न उतपादन गर्दै बचेको अन्न बिक्री गर्छन् । यो गाउँपालिकामा विपन्नको सङ्ख्या धेरै छ ।

फलस्वरुप गाउँपालिकाले विपन्न परिवारको पहिचान गर्दै विपन्न परिवारलाई घर निर्माण गर्दै आएको छ । यो वर्ष १६४ परिवारलाई गाउँपालिकाले घर निर्माण गरेको छ । गाउँपालिकाले सहारा नेपाल र ह्याविट्याटको सहकार्यमा विपन्न परिवारका लागि १६४ ओटा घर निर्माण गरेको हो । प्रति घर निर्माणमा रु एक लाख ५० हजार खर्च हुने गरेको बताइन्छ । गत वर्ष गाउँपालिकाले ७६ ओटा घर निर्माण गरेको थियो ।धान, मकै, गहुँ आदि मुख्य बाली रहेको झापा गाउँपालिकाका नागरिकको मुख्य पेशा पनि कृषि नै हो ।

करिब ७८.२४ प्रतिशत साक्षर रहेको झापा गाउँपालिकाले १५ श्याको अस्पतालसहित स्वास्थ्य संस्थाको समेत स्तरोन्नति गर्दै लगेको छ । सबै वडामा विद्युत् सेवा विस्तार, कृषकका लागि गोठ सुधार कार्यक्रम, गोबरग्यास प्लान्ट निर्माणमा अनुदान, कृषकलाई पानी तान्ने मोटर, निःशुल्क बीऊविजन, मल खरिदमा छुटजस्ता कार्यक्रम गाउँपालिकाले सञ्चालन गरेको छ । कोरोना कहरकैबीच झापाका हरेक पालिकाले विकास निर्माणका कामलाई अघि बढाएसँगै झापावासी उत्साहित पनि छन् ।

Comment here