जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार १२:५४

पुर्जाविहीन करिब ५०० घरपरिवारलाई उपमहानगरपालिकाले दियो लालपुर्जा


बुटवल, असोज २९

बुटवल उपमहानगरपालिकाले नगरका विभिन्न वडामा गरी झण्डै ५०० लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन करिब ५०० घरपरिवारलाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो । नगरपालिकाले नगरका वडा नं १५ मा ४८ परिवार, वडा नं १६ मा ६३ परिवार, वडा नं १७ मा ९० तथा वडा नं १८ मा १४७ परिवारलाई पुर्जा वितरण गरेको छ ।

यस्तै वडा नं १४ मा ६० र वडा नंं १८ मा ९० वटा लालपुर्जा तयार भई वितरणको तयारीमा छन् । बुटवल–१८ को मोतिपुर पोखराबारीमा नगरप्रमुख शिवराज सुवेदीले २२ जनालाई लालपुर्जा वितरण गर्नुभयो । उक्त वडामा यसअघि १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिसकिएको छ भने थप करिब ९० वटा पुर्जा तयार भइरहेका छन् । त्यस अवसरमा नगरप्रमुख सुवेदीले मोतीपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलको नमूना बस्तीका रूपमा विकास गर्ने गरी योजना बनिरहेको बताउनुभयो ।

प्राविधिक टोलीको अध्ययनपछि खेतीयोग्य, आवासयोग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गर्दै आधुनिक बस्तीका रूपमा विकास गरिने प्रमुख सुवेदीको भनाइ छ । उपमहानगरमा गाउँ ब्लक जग्गामा रहेका करिब ५०० परिवारलाई लालपुर्जा वितरण गरिएको हो । बुटवलमा अव्यवस्थित बसोवासीको लगत सङ्कलन र नापजाँचको कामसमेत चलिरहेको छ । अहिले लालपुर्जा वितरण गरिएका क्षेत्र नापी भएर पनि पुर्जाविहीन हुनुपरेका समुदायका लागि हो ।

भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व वृद्धिका लागि प्राविधिकसहितको विशेष कार्यदलसमेत बनाएर नमूना काम गरिरहेको छ । कार्यक्रममा नापी कार्यालय रुपन्देहीका २ नम्बर टोली प्रमुख यमप्रसाद पाण्डेले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रदान गर्न जनप्रतिनिधिको समन्वयकारी र नेतृत्वदायी भूमिकाले सहज भएको बताउनुभयो ।