जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार १७:४८

पदबहालीमै अर्थमन्त्रीले औंल्याए सफलताको पुँजी


काठमाडौं, असोज २९ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफू अर्थ मन्त्रालयमै डुबेर अर्थतन्त्रलाई उकास्ने गरी सिंहदरबार प्रवेश गरेको बताउनु भएको छ ।

शीतलनिवाशमा आयोजिति बिशेष समारोहबीच राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलिएलगत्तै अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेपछि कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनु भएको हो । दोस्रो पटक अर्थ मन्त्रीको जिम्मेवारीमा आउनु भएका पौडेलले समस्याबाट अर्थतन्त्रलाई माथि उकास्ने गरी आफू मन्त्रालयमै डुब्न चाहेको बताउनु भयो । ‘अर्थ मन्त्रालयभित्र डुब्ने र अर्थतन्त्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिदृश्यबाट सिर्जित चुनौतीलाई पार लगाउने गरी म यहाँ आएको छु, त्यसैअनुसार योजनाका साथ काम गर्छु,’ अर्थमन्त्री पौडेलको भनाई थियो ।

मन्त्री पौडेलले जुन काममा लाग्यो, त्यसैमा डुब्ने आफ्नो आद्धत रहेको भन्दै मन्त्रालयको समस्या समाधानमै लागिरहने अठोट गर्नुभयो । ‘मन साट्ने भाषामा म के राख्न चाहन्छु भने, मेरा कामका सीमा छन, म जहाँ लाग्छु त्यहीँ डुब्छु, त्योभन्दा बाहिर पनि संसार छ । त्यहाँ पनि ध्यान दिनुपर्छ भन्नेमा म अलि कम हेक्का राख्छु,’ अर्थ मन्त्रालयका उच्च पदस्थ कर्मचारी, नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्ड र बीमा समितिका अध्यक्षलाई मात्रै सहभागी गराइएको कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, ‘जता लाग्यो त्यहीँ डुब्ने बानी छ । त्यसकारण अव म अर्थ मन्त्रालयमै डुब्ने गरी आएको छु ।’

मलाई राम्रोसँग थाहा छ, सफलताको पुँजी मेरो खल्तीमा छैन, तपाईंहरूको खल्तीमा छ । तपाईंहरूले सफलताको पुँजी झिकेर घुमाउनु भयो भने त्यसबाट उपलब्धि हुन्छ । अन्यथा सफलता धेरै टाढा छ

उहाँले आफू काम गर्न आएको भन्दै खुला दिलले सघाउन सवै कर्मचारीलाई आग्रह गर्नुभयो । आफू एक्लैको पहलले चुनौति सामना गर्न नसकिने भन्दै कर्मचारीलाई त्यसैअनुसार खट्न र सघाउने उहाँले निर्देशन पनि दिनुभयो । ‘मलाई राम्रोसँग थाहा छ, सफलताको पुँजी मेरो खल्तीमा छैन, तपाईंहरूको खल्तीमा छ । तपाईंहरूले सफलताको पुँजी झिकेर घुमाउनु भयो भने त्यसबाट उपलब्धि हुन्छ । अन्यथा सफलता धेरै टाढा छ,’ मन्त्री पौडेलले भन्नुभयो ।