जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार २१:१६

फेरि पर धकेलियो माथिल्लो तामाकोशी


दोलखा । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्युत् राष्ट्रिय ग्रिडमा जोड्ने प्रसारण लाइनको एउटा टावर भाँचिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–३, पुटुङस्थित एपी २२/० नम्बरको टावर जगसहित भासिएर भाँचिएको हो ।

पुटुङमा भएको सो दुर्घटनासँगै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित विद्युत वितरण कार्य थप २ महिना ढिलाइ हुने भएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले दिनुभएको जानकारीअनुसार टावर पुरै हटाएर नयाँ बनाउनुपर्ने गरी विभिन्न स्थानमा भाँचिएको छ ।

विद्युत् प्रसारणका लागि लट–४ का भारतीय ठेकेदार कम्पनी केईसी इन्टरनेसनल लिमिटेडद्वारा निर्मित ४७ किलोमिटर लम्बाइको २२०/१३२ केभी डबल सर्किटको टावरमध्ये सो टावरको फेददेखि टुप्पोसम्म करिब २३ वटा फलाम भाँचिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । कुल १ सय २७ टावरमध्ये बिगु गाउँपालिका–४, लादुकबाट कालिञ्चोक गाउँपालिका–३, पुटुङ जोड्ने सबैभन्दा लामो दूरीको तार तानिएको सो टावर भाँचिएपछि पूरै हटाउन र नयाँ बनाइ डबल सर्किट तार जोड्न कम्तीमा २ महिना लाग्न सक्ने अनुमान गरिएको प्रवक्ता न्यौपानेको भनाई छ ।

टावर भाँचिएसँगै जगसमेत कम्तीमा १० इन्च सरेको छ । टावरका विभिन्न पार्ट्स पुनःप्रयोग गर्न सकिने भएकाले दक्ष मिस्त्री आएपछि टावर खोल्न सुरु गरिने केईसी इन्टरनेसनल लिमिटेडका दोलखास्थित म्यानेजर अमित पुनियाले जानकारी दिनुभयो । प्रसारण लाइनका लागि केईसीले १ करोड ७९ लाख ४ हजार ८ सय ७२ अमेरिकी डलर र २५ करोड २५ लाख ५९ हजार ५ सय २० रुपैयाँ गरी दुई वटा मूल्यमा निर्माण सम्झौता गरेको थियो । टावर भाँचिनुलाई केईसी इन्टरनेसनल कमजोर जमिन र आयोजनालाई दोष लगाए पनि तथ्य बाहिर आइसकेको छैन ।