जनता टाइम्स

३० आश्विन २०७७, शुक्रबार १९:१८

सामाजिक सञ्जालमा बनेको ‘बलात्कारी समूह’का नाइके पक्राउ


काठमाडौं, असोज ३०

केही समय अघि राजधानी लगायतका शहरमा ‘बलात्कारी होस त’ भन्ने अभियान चल्यो । युवायुवतिहरुले यो अभियानलाई देशव्यापी रुपमा चलाए । त्यसलाई काउन्टर दिनका लागि केही उच्श्रृखल युवाहरुले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी समूह (रेपर एसोशिएसन) बनाए ।

नेपाली समाजमा रहेका केही अराजक युवाहरुले सो समुह चलाएपछि त्यसको खुवै आलोचना भयो । त्यसपछि प्रहरीले सो समुहको खोजी गरिरहेका बेला त्यो समुह बनाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक पेज र समूह बनाउने नवीन बस्नेतलाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालका अनुसार पक्राउ पर्ने बस्नेत प्यूठानको झिम्रुक गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् । उनी पछिल्लो समय नवलपरासीको कावासोती नगरपालिकामा बस्दै आएका थिए ।

अर्यालका अनुसार १९ वर्षीय बस्नेतलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धानका लागि काठमाडौं ल्याउन लागेको छ । उनीविरुद्ध काठमाडौंमा प्रकाउ पूर्जी जारी भएको थियो । बस्नेतलाई पक्राउ गर्नका लागि नवलपरासी र बर्दघाट सुस्ता पूर्वका प्रहरीले सहयोग गरेका थिए ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा बनाइएको बलात्कारी संगठन नामक फेसबुक पेज र समूहबाट बलत्कारजस्तो जघन्य अपरा गर्न दुरुत्साहन गर्ने, महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचार विरुद्धको सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउनेलगायतका गतिविधि हुने गरेका थिए ।