जनता टाइम्स

१ कार्तिक २०७७, शनिबार ११:५४

नेपालमै छ कोरोना जित्ने औषधी : भान्छामै तयार पार्न सकिने यी औषधीले छिटो निको भएका छन संक्रमित


कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा २ सय शैय्याको आइसोलेसन सेन्टर छ । जहाँ आधुनिक तरिकाले आयुर्वेदिक पद्धतिबाट कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । यही पद्धतिबाट गरिएको उपचारबाट कोरोना संक्रमितले राम्रो स्वास्थ्य लाभ गरिरहेका छन । आयुर्वेदकि औषधीको प्रयोग गरी भइरहेको उपचारले संक्रमितहरु छिटोछिटो निको भएर घर फर्कने क्रम बढ्दो छ । केन्द्रले कसरी उपचार गरिरहेको छ ? यस्तो छ केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार साहको कोरोना उपचार अनुभव र सफलताको सुत्र

सुरु सुरुमा एक सातादेखि १० दिनमै बिरामीलाई निको बनाएर पठाएका थियौं । तर बीचको अवधिमा पीसीआर परीक्षण गर्न ढिलाइ हुँदा कतिपय बिरामीलाई बढी समय राख्नुपर्यो । सरकारको निर्देशानुसार नै सङ्क्रमितलाई औषधोपचारपछि पीसीआर परीक्षण गराई कोरोना सङ्क्रमणमुक्त बनाएर घर पठाउने गरेका छौँ । कोरोना सङ्क्रमितहरू केन्द्रमा आएपछि पहिलो प्राथमिकता नै आयुर्वेदिक औषधिलाई खान दिन्छौँ । धेरैजसो बिरामीलाई रुघा, खोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने गरेको पाइएको छ । त्यस्तै कतिपयलाई पखाला लाग्ने, स्वाद हराउने, गन्ध थाहा नपाउनेजस्ता लक्षण पनि देखिएका छन् । यस्ता बिरामीलाई केन्द्रले नै अनुसन्धान गरेर तयार पारेको आयुर्वेदिक औषधिलाई दुई दुई गोलीका दरले दिनमा तीन पटक दिने गरेका छौँ । यसबाट बिरामी छिटो छिटो निको हुने गरेका छन् ।

गोलीको औषधिले ज्वरो आउनेलाई ज्वरो कम हुने, खोकी लाग्नेलाई खोकी कम हुने, रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्छ । एउटै गोलीमा सबै गुण भएका चिजहरू मिलाएर बनाएको औषधिबाट रोगीको उपचार गरिरहेका छौँ । एउटै हालसम्म केन्द्रमा करिब सात सय बिरामी निको भएर घर फर्केका छन् भने अहिले पनि झण्डै २ सय जना उपचाररत छन । यहाँ बस्नेलाई मात्रै यो औषधि उपलब्ध छ । औषधि राम्रो भए पनि यो औषधि अहिले बजारमा पठाउन अनुमति छैन । यो औषधि भनेको गुर्जो, सुठो (अदुवा), पिप्ला, मरिच, दालचिनी, तुलसीलगायत सबै मिलाएर बनाएको गोली हो । यस्ता औषधि घरमै बसेर पनि सेवन गर्नुहोस ।

सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन । त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ । भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक्स लगाउने, सफाइमा ध्यान दिएरमा अरूलाई सङ्क्रमणबाट बचाउन सकिन्छ ।

घरमा बसेर आयुर्वेदिक जडीबुटीहरू प्रयोग गरिराख्नुपर्छ । यसले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाओस् । यस्ता औषधिहरू जसले ज्वरो, खोकी कम गर्न सहयोग पुग्छ । हाम्रो भान्सा (किचेन) लाई औषधालय बनाउनुपर्छ, घरमै रहेका आयुर्वेदिक जडीबुटी सेवन गरेर कोरोना जित्न सक्छौँ । उच्च मनोबल राख्नुपर्छ, तनाव लिनु हुँदैन । सातदेखि १० दिनको कुरा न हो । नौ दिनमा त हाम्रो शरीरमा रहेको भाइरस त मर्छ नै । शरीरभित्र नौ दिनभन्दा बढी बाँच्न सक्दैन । १४ दिनपछि त घर परिवारमा बसेर खाना खान र रमाउन सकिन्छ ।

हाम्रो घर र करेसा बारीमा पाउने जडीबुटीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ । आहार विहारको रूपमा यसलाई प्रयोग गर्नुपर्छ । सर्वसाधारणलाई हाम्रो के अनुरोध छ भने घर आँगनमा गुर्जो छ भने त्यसलाई पानीमा उमालेर दिनमा तीन पटकसम्म खान सकिन्छ । गुर्जोको साथै सुठो, पिप्ला, मरिच, दालचिनी, तुल्सी सबै मिलाएर उमालेर काडा बनाएर दिनको तीन चार पटक खायौँ भने कोरोनालाई जित्न सकिन्छ । एकदमै थोरै सङ्ख्याका मानिसलाई मात्रै श्वास फेर्न गाह्रो हुन्छ, त्यस्तो समस्या नआओस् भनेर पनि आयुर्वेदिक औषधि खानु आवश्यक छ ।

धेरै जसको भनाइ छ, ‘‘गुर्जोमा तीतो मात्रा बढी भएकाले रक्तचाप घटाउँछ, न्यून रक्तचाप भएकाले खानु हुँदैन ।’’ वास्तविकता त्यो होइन, गुर्जोले रक्तचाप घटाउँदैन । तर पनि हामीले जुनसुकै औषधि पनि ठिक्कै खानुपर्छ । गुर्जोको धूलो (चूर्ण) हो वा काडा बनाएको हो त्यसमा भर पर्छ । काडा बनाएका छौँ भने एक पटकमा ४०–५० एमएल लिँदा फरक पर्दैन । गुर्जो रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हो । घरमा हाम्रा बाआमा, हजुरबा,हजुरआमा हुनुहुन्छ । उहाँको उमेर धेरै भएको हुन्छ र विभिन्न रोगबाट ग्रसित पनि हुनुहुन्छ । त्यसैले उहाँहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ । त्यसैले ज्येष्ठ नागरिकसँग कोरोनासँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनु जरुरी हुन्छ । उहाँहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकियो भने पनि कोरोनाबाट बचाउन सजिलो हुन्छ । यी बिधि सवैका लागि उपयोगी छ ।