जनता टाइम्स

१ कार्तिक २०७७, शनिबार १७:४२

वडा कार्यालयको भवन उद्घाटन शिलालेखमा नाम नराखेको भन्दै उपमेयरको बबाल !


कैलाली, कात्तिक १

जनप्रतिनिधिमा कतिसम्म ‘इगो’ हुन्छ भन्ने कुरा शनिवारको एउटा घटनाले देखाएको छ । कैलालीको घोडाघोडी नगरपालिका–७ को वडा कार्यालय भवन हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो ।

सो नगरपालिकामा मेयर र उपमेयर नेपाल कम्युनिष्ट पार्टीका रहेका छन् । नगरपालिकामा मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाबीच शनिबार सार्वजनिक कार्यक्रममै झगडा भयो । कारण – शिलालेखमा उपमेयरको नाम नलेखिएको विषय ।

मेयर चौधरीले शिलालेखबाट रातो पर्दा हटाउँदै भवन उद्घाटन गर्न शुरु गर्दा उपमेयर थापाले ढुंगाले र्हिकाउदै मुर्दाबादको नारा लगाइन् । मेयरले उपमेयरको हात समातेर यस्तो नगर्न आग्रह गर्छन् तर उपमेयर झनझन आक्रोशित हुन्छिन् । त्यही बेला उपमेयर थापाले उक्त शिलालेखमा थुक्छिन् । महिलालाई हेपेको भन्दै एक्लै नाराबाजी गर्दर्छिन् ।

उनी आफ्नो मर्यादा कसले राख्ने भन्दै मुर्दावादको नारा लगाउन थाल्छिन् । उपमेयरलाई पछाडीबाट केही व्यक्तिहरुले अराजक गतिविधि गर्न सहयोग गरेको देखिन्छ । उपमेयरलाई शान्त हुन सुरक्षाकर्मीले पनि आग्रह गर्छन् तर उनी आग्रहलाई मान्ने पक्षमा देखिन्‍नन् । केही फेरी अर्को शिलापत्रमा दुवैजनाको नाम राखौला भन्दै सम्झाउने प्रयास पछि गर्दछन् । त्यस बेला त्यहा उपस्थित मानिस भने आश्चर्य मानेर उपमेयरको हर्कत देखेर छक्क पर्दछन् ।

उपमेयर थापाले आज तीन वडा कार्यालयहरुको भवन उद्घाटन गरेको र कुनै पनि वडा कार्यालयको शिलालेखमा आफ्नो नाम नराखेको कारण विरोध जनाएको बताइन् । ‘शिलालेखमा मेयर र वडाध्यक्षदेखि वडासदस्यसम्मको नाम राखिएको छ, तर आफू महिला भएकै कारण नाम राखेनन्, आफूलाई नराम्रो लाग्यो, त्यसैले विरोध गरेको हुँ’, उनले भनिन् ।

यता मेयर चौधरीले शिलालेखमा उपमेयरको नाम राख्न नमिल्ने भएको कारण नराखीएको बताए । उनले भने, ‘शिलालेखमा उद्घाट गर्नेको मात्रै नाम हुन्छ, जसले उद्घाटन ग¥यो, त्यसकै नाम हुने हो, वडाको सवालमा वडा समितिको निणर्य हुन्छ।’ ​

स्थानीयले दिएको जानकारीअनुसार मेयर र उपमेयर दुई गुटका भएका कारण समस्या भएको बताउछन् । मेयर चौधरी अध्यक्ष केपी शर्मा ओली र उपमेयर थापा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भएकाले विवाद भएको दावी गरेका छन् ।