जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार ११:३७

कैलालीमा राति गस्तीमा निस्किएका दुई प्रहरी सम्पर्कविहीन, एकको हत्या भएको आशंका


कैलाली, कात्तिक २

कैलालीमा गएराति मोटरसाइकलमा गस्तीमा निस्किएका दुई प्रहरी सम्पर्कविहीन भएका छन् । जसमध्ये एक जनाको शव मोहना नदीमा भेटिएको छ । प्रहरीको पोशाक भएपनि उनको पहिचान हुन सकेको छैन ।

कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका असई र एक प्रहरी जवान गएराति सीमा क्षेत्रमा गस्तीमा निस्किएका थिए । मोटरसाइकलमा गस्तीमा गएका असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद शनिबार राति १० बजेदेखि बेपत्ता भएका हुन् ।

मोटरसाइकलमा गएका उनीहरुमध्ये एकजनाको शव मोहना नदीमा फेला परेको सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘शव पानीमा डुबेको छ । तर प्रहरी पोसाकमै भएकाले प्रहरी नै हो भन्ने खुलेको छ । अर्का एकजना फेला परेका छैनन् । मृतकको सनाखत पनि भएको छैन ।”

प्रहरी अधिकारीले तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । यद्यपी थप अनुसन्धानपछि मात्रै के भएको हो भनेर खुल्ने बताइएको छ ।