जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार ११:५४

१८५ औलो प्रभावित भेटिए प्रदेश ५ मा


धम्बोझी, जेठ १७

प्रदेश ५ मा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक भएको छ । कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी पाइएका हुन् । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो रोगसम्बन्धी अन्तरक्रियामा सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने अभियान चलाएको छ ।

‘आफैँबाट शुरु गरौँ, औलोलाई शून्यमा पुर्‍याऔँ’ भन्ने मूल नाराका साथ औलो नियन्त्रणका लागि सरकारले चलाएको अभियानकै दौरानमा बाँकेमा औलो रोगीको उच्च जोखिममा रहेको तथ्य बाहिरिएको हो । निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईँद्वारा प्रस्तुत तथ्याङ्कमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ औलोको उच्च जोखिममा रहेको पाइएको छ ।

औलो रोग लामखुट्टेबाट लाग्ने भएकाले घर वरिपरि सफा राखी वातावरण नै स्वच्छ बनाउनुपर्ने, खाल्डाखुल्डी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नेजस्ता विषयमा नागरिक संवेदनशील हुनुपर्ने निर्देशक चापागाईंले बताउनुभयो ।