जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १२:१५

तीन वर्षदेखि ठप्प रुम्जाटार विमानस्थल आजदेखि सञ्चालनमा


ओखलढुङ्गा, जेठ १७

काठमाडौं–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौँबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो ।

रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उहाँको भनाइ छ । यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुनसकेको थिएन । नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताउनुभयो ।

अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ । उहाँका अनुसार हरेक शुक्रबार काठमाडौँ–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडौं उडान भर्ने निगमको तयारी छ । रुम्जाटारमा नियमित उडान हुने भएपछि जिल्लावासी खुशी भएका छन् ।