दाङ, कात्तिक ३०
नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं लुम्बिनि प्रदेशका मूख्यमन्त्री शंकर पोख्रेलले ९/९ महिनामा सरकार फेर्न बानी परेकालाई अहिले सरकार फेर्न मन लागेको बताउनुभएको छ । दाङको तुल्सिपुरस्थित शान्ति पार्कमा स्थापना गरिएको शान्तिका अग्रदुत गौतम बुद्धको प्रमिमा उद्घाटन गर्दै मूख्यमन्त्री पोख्रेलले छिटो–छिटो सरकार फेरे केही पाइहालिन्छ कि भन्ने आशा गर्नेहरुले नै राजनीतिक अस्थिरता चाहेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘९/९ महिनामा सरकार फेर्न बानी परेकालाई असह्य भएको छ, तर जनता राजनीतिक स्थायित्वको पक्षमा छन् ।’ उहाँले थप्नुभयो,‘यो समयमा सरकार फेर्नु आवश्यक छैन, जनताको चाहना पनि होइन ।’ उहाँले राजनीतिक स्थिरता र विकास अहिलेको आवश्यकता रहको पनि सुनाउनुभयो । मन्त्री पोख्रेलले जनताको स्वास्थ्यप्रति सरकार गम्भिर र संवेदनशील रहेको भन्दै त्यसैका कारण महामारिबाट धेरैको ज्यान जोगाइएको बताउनुभयो ।
‘दक्षिण एसियाका अन्य देशभन्दा नेपालको मृत्युदर कम छ, सरकारले कोरोनाविरुद्ध केही गरेन भनेर आलोचना गर्नेहरुलाई अन्य देशको तुलनामा यो मृत्युदर नै काफी छ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो । महामारीलाई जित्न जनताको साथ अनिवार्य भएको भन्दै सबैले अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र सावुन पानीले राम्रोसँग मिचिमिचि हात धुने बानीको विकास गर्न आम नागरिकलाई मुख्यमन्त्री पोखरेलले आग्रह गर्नुभयो । उहाँले शान्ति पार्कलाई वातावरणमैत्री बनाउन पनि अपिल गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्