जनता टाइम्स

३० कार्तिक २०७७, आईतवार १७:५९

तोकियो कफीको न्यूनतम मूल्य


काठमाडौं, कात्तिक ३०

राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट यस आर्थिक वर्षको भोलिबाट लागु हुने गरी न्यूनतम मूल्य कायम गरिएको छ । कृषकले उत्पादन गर्दा लाग्ने लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको हो ।

प्रत्येक वर्ष राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट मंसिर १ गते राष्ट्रिय कफी दिवसका दिन सार्वजनिक गरिँदै आएकामा ‘राष्ट्रिय कफी दिवस’ को १६औँ संस्करण भोलि पर्न गएको र कोरोना महामारीका कारण नेपाली जनजीवन सामान्य रूपमा अझै पनि फर्किनसकेकाले बोर्डले यस वर्ष कफी दिवसको मूल समारोह आयोजनामा नगर्ने भएको छ ।

यद्यपि कफी कृषक, सहकारी, उद्योग कफी क्याफे, कफी पारखी र कफीसँग सरोकार राख्ने सबै सरोकारवालाहरूलाई १६औँ राष्ट्रिय कफी दिवस यथास्थानमा मनाउन बोर्ड विज्ञप्तिमार्फत अपिल गरेको छ । बोर्डका अनुसार यस वर्षको राष्ट्रिय कफी दिवसको नारा ‘कफी विस्तारमा उन्‍नति, आर्थिक प्रगति’ राखिएको छ ।