काठमाडौं, मंसिर २
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता बोम खड्काको निधन भएको छ। गुल्मीको धुर्कोट गाउँपालिका–१ का नेता खड्काको उपचारका लागि तम्घास ल्याउने क्रममा गएराति मृत्यु भएको हो । उहालाई राति १ बजे चक्कर लागेपछि उपचारका लागि लैजान लागिएको थियो ।
नेता खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाइमा पुगेका व्यक्ति मानिनुहुन्थ्यो । विसं २०२३ असारमा धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा जन्मिनु भएका थियो । उहाले विसं २०४१ भन्दा अगाडि नै रेसुङ्गा बहुमुखी क्याम्पसमा नेकपा (माले) निकट विद्यार्थीको सङ्गठनमा आबद्ध भई सङ्गठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । विसं २०४१ मा नेकपा (माले)को जिल्ला कमिटी सदस्य र विसं २०४९ मा मालेकै जिल्ला कमिटी उपसचिव हुनु भएको थियो । त्यसपछि नेकपा एमाले भइसकेपछि सङ्गठन विभाग प्रमुख हुँदै एमालेकै जिल्ला अध्यक्ष बन्नुभयो ।
अहिले नेकपाको लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा गुल्मी निर्वाचन क्षेत्र नं २ का इन्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो । नेता खड्का जनयुद्धको समयमा पटक–पटक प्रहरीको पक्राउमा परेको, कांग्रेससँगको भीडन्तमा घाइते भएको तथा धेरैपटक यातनाको सामना गरेको नेकपा जिल्ला कमिटी कार्यालय सदस्य कृष्ण सुनारले जानकारी दिनुभयो । नेता खड्काका एक छोरा र एक छोरी छन्।
नेकपा महासचिव विष्णु पौडेलले नेता खड्काको निधनले नेपाली कम्युनिस्ट आन्दोलनका लागि अपूरणीय क्षति पुगेको बताउनु भएको छ । पौडेलले खड्कामा उन्नत दार्शनिक, सैद्धान्तिक एवं राजनीतिक समझ, असाधारण संगठनात्मक सामर्थ्य, जनता, राष्ट्र र पार्टीप्रतिको निश्वार्थ सेवाभाव रहेको बताउनु भयो । नेकपा नेता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि खड्काको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्