जनता टाइम्स

२ मंसिर २०७७, मंगलवार १३:१४

आज पनि खुला बालगोपालेश्‍वर मन्दिर


काठमाडौं, मंसिर २

नेवार समुदायका केही समूहले आज भाइटीका लगाउने भएपछि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्‍वर मन्दिर खुला गरिएको छ । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्‍वर मन्दिर बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म खुला रहने भएको हो । दिदी–बहिनी नहुने दाजुभाइले बालगोपालेश्‍वर मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्‍वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।

यसपटक सोमबार र मंगलबार टीका लगाउने भएपछि मन्दिरलाई दुई दिन नै खुल्ला गरिएको हो । आज पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले आज भाइटीका लगाउने भएका हुन् । नेवार समुदायको भाइटीका (किजा पूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

हरेक वर्ष भाइटीकाको दिन खुल्ने यो मन्दिर २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि ५ वर्षसम्म पुर्ननिर्माणका कारण बन्द थियो । तर अहिले पूर्ण रुपमा सम्पन्‍न भएपछि तिहारमा टीका लागउन सर्वसाधारणका लागि खुला गरिएको हो । ५ वर्ष पछि पुनः बालगोपालेश्वर मन्दिरमा पूजा गरी भाइटीका लगाउन पाउँदा सर्वसाधारण खुसी देखिएका छन् । यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड लागू गरी टीका लगाउने व्यवस्था पनि गरिएको छ ।