जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १२:२७

ब्राउन सुगरसहित ९ जना पक्राउ, थप अनुसन्धान हुँदै


विराटनगर, मंसिर ३

मोरङको उर्लाबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित नौजना पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका–७ का छोमाई तामाङको घरमा ब्राउन सुगर र गाँजा बिक्री तथा सेवन गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले छापा हानी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा उर्लाबारी-७, स्कुलडाँडाकी २१ वर्षीया ममता तामाङ, बरगाछीका २४ वर्षीय मिलन याक्सो, १९ वर्षीय असिम लिम्बू, उर्लाबारी-९, भोटेपुलका २८ वर्षीय आकाश लिम्बू, झापा दमक-७, बजार लाइनका १९ वर्षीय ससिन सेख, दमक-४, सिर्जना टोलका ३० वर्षीय सुमन सुनुवार, मोरङ रतुवामाई-८, इटहराका २२ वर्षीय रुमपमान केदेम (लिम्बू), रतुवामाई-१०, सातमेडीका १९ वर्षीय एन्जिल मगर र मोरङ रतुवामाई-९, इटहराका २५ वर्षीय मन्जिल बस्‍नेत छन् ।

प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ७२७ मिलिग्राम,गाँजा १८४ ग्राम २३० मिलिग्रामसहित उनीहरुले प्रयोग गर्ने मोटरसाइकल बरामद भएको जनाएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डीएसपी) मानबहादुर राईले जानकारी दिनुभयो ।