जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १४:४६

जुवा खेलिरहेको अवस्थामा विभिन्‍न स्थानबाट २५ जना पक्राउ


काठमाडौं, मंसिर ३

जुवा खेलिरहेको अवस्थामा विभिन्‍न स्थानबाट २५ जना पक्राउ परेका छन् । बागलुङको बागलुङ नगरपालिका ३, गुठीस्थित अमिना होटलमा तास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्‍ने ५० वर्षीय हीरा थापालगायत चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ४ सय ७५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

तनहुँको बन्दीपुर गाउँपालिका १, छापस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्‍ने ३५ वर्षीय लक्ष्मण कपालीलगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ५ सय ५० रुपैयाँ र कौडासहित पक्राउ गरेको हो ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ४ बस्‍ने रवीन्द्रप्रताप सेनको घरमा जुवा खेलिरहेको अवस्थामा सेनलगायत सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ११ हजार ६ सय १३ रुपैयाँ र २ गड्‍डी ताससहित पक्राउ गरेको हो ।